भारतीय बैंकमा ब्याज आउने खाता खोल्न पाउनु पर्छ : ज्ञानेन्द्र ढुंगाना

  २०७५ जेठ २९ गते १७:०९     विकासन्युज

पहिलो कुरा त लगानीयोग्य पूँजीको अभावले ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव नहुन सक्छ । ८ प्रतिशत वृद्धिका लागि ५ खर्ब रुपैयाँ लगानी गर्नुपर्छ । त्यसको पर्याप्ता नहुने अवस्था छ । त्यसैले मौद्रिक नीति यता केन्द्रित होस । आर्थिक वृद्धिदर र मूल्य वृद्धिलाई सँगै लैजान मुस्किल हुन्छ ।

लगानीयोग्य पूँजीको अभावका कारण ब्याजदर बढिरहेकै छ । उच्च ब्याजदरका कारण लागत बढ्ने पनि निश्चित छ । विगतमा केन्द्रिय बैंकले सीसीडी रेसियोमा सहुलियत दिएको थियो । केन्द्रिय बैंकमा रहेको खाता बन्द गरेर बाणिज्य बैंकमा खाता खोलेपछि १२ अर्ब रुपैयाँ तरलता तत्काल वित्तिय प्रणालीमा आउँदैछ ।

सीआरआर एसएलआरबाटै तरलता व्यवस्थापन गर्न सकिन्छ । सीसीडी रेसिया अब चाहिँदैन् । बासेलले पनि मापदण्ड तोकेको छ । विगतमा आवश्यक थियो होला तर अब सीसीडी आवश्यक छैन । त्यसलाई हटाउँदा २ देखि ३ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी आउँछ । विदेशी पूँजी भन्दा यो सस्तो पनि पर्छ । केहि बर्ष यसलाई उपयोग गरौं ।

सरकारले आगामी आर्थिक बर्षमा १७२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भनेको छ । यसले पनि केहि प्रभाव पार्ने देखिन्छ । राष्ट्र बैंकको भर्खरै आएको निर्देशनले झनै पछाडी फर्कने अवस्था देखिएको छ । पुनरकर्जा सुविधा ५ अर्बबाट २५ अर्ब रुपैयाँ पुगिसक्यो । यसलाई पनि बढाउनु पर्छ ।

प्राथमिकता प्राप्त क्षेत्र कृषि, उर्जा र पर्यटनमा गरिने लगानी पनि व्यवस्थापन गरियोस । कृषि क्षेत्रमा १० प्रतिशत लगानी गर्न असम्भव देखियो । त्यस कारण कृषि र पर्यटनमा लागि केहि समय थप गरियोस ।

प्रशोधन उद्योगलाई पनि समावेश गरियोस । अहिले दिएको कर्जामा अनुदान छैन् तर अर्काे बैंकमा सार्दा मात्रै अनुदान पाउने व्यवस्था छ । त्यसलाई पनि सम्बोधन गरियोस । भूकम्प पीडितको पुनः कर्जामा पनि कार्यविधीले १० बर्ष भन्यो तर ऐनमा २ बर्ष मात्रै लेखिएको छ । त्यसको पनि सम्बोधन गर्नुपर्छ ।

गत सालको मौद्रिक नीतिमा आएको ओभर ड्राफ्टको सीमा १५ प्रतिशतको तोकियो । आयातमा आधारित अर्थतन्त्र भएकाले ओभर डाफ्टलाई कुल कर्जाको १५ प्रतिशत नभनेर व्यक्तिगत कर्जा ओभर डाफ्ट कर्जाको सिमा १५ प्रतिशत भन्यो भने सहज हुनेछ ।

स्थानीय तहमा शाखा खोल्ने क्रम अघि बढेको छ । तर सरकारी पैसा खातामा आएपछि तुरुन्तै बाहिरिने कुराको व्यवस्था हटोस् । शान्ति सुरक्षाको व्यवस्था होस । नगद ओसार पसारका गर्नुपर्ने ठाउँमा नोट कोषको व्यवस्था गरियोस । आवास कर्जाको सीमा १ करोड रुपैयाँ कम भयो त्यसलाई बढाउनु पर्छ ।

ठूला परियोजन निर्माण भैरहेका छन् । त्यस्ता परियोजनाको ग्यारेन्टीमा रिस्क वेट गत बर्ष बढाएर १०० प्रतिशत पुर्याईयो । अब त्यसमा फण्डेड लोन र नन फण्डेडमा २० प्रतिशत र ५० प्रतिशत तोकियोस । यसले बैंकहरुको ग्यारेन्टी गर्ने क्षमता बढ्नेछ । संस्थागत निक्षेपमा कुल निक्षेपको सिमा लगाउनु भन्दा संस्थालाई सिमा तोकिनुपर्छ । केवाईसी अपडेट गर्न समय लाग्छ, केहि समय थपियोस ।

भारतबाट समान ठूलो मात्रामा आयात हुन्छ । हाम्रो आयातलाई धान्ने गरि भारतीय बैंकमा मौज्दात राख्दै आएका छौं । तर त्यो मौज्दातमा हामीलाई ब्याज प्र्राप्त हुँदैन् । किनकी नेपाल राष्ट्र बैंकले ब्याज आउने गरि खाता खोल्न बन्देज लगाएको छ । त्यसकारण राज्यले ठूलो मात्रामा आम्दानी गुमाईरहेको छ ।

हामीले विगतदेखि माग्दै आएको ब्याज आम्दानी पाउने गरि भारतीय बैंकमा खाता खोल्न पाउने व्यवस्था यसपाली मौद्रिक नीतिले सम्बोधन गरियोस । तिब्बतसँगको व्यापारमा टीटीको उपकरण प्रयोग हुँदै आएको छ । यो व्यापारलाई निरुत्साहित गर्ने कुनै व्यवस्था नयाँ नल्याईयोस् । यो बिशेष व्यापारलाई बिशेष रुपमै सम्बोधन गरियोस । (नेपाल राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीति तर्जुमा अन्तरक्रियामा नेपाल बैंकर्स संघका तर्फबाट दिएको सुझाव)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.