नयाँ बजेटमा विज्ञ अर्थमन्त्रीको उपहारः शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी व्यवसायिक कर्जा

  २०७५ वैशाख १७ गते १४:२२     नारायण पौडेल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट मार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम ल्याउने तयारी थालेका छन् । आइतबार ज्ञापन पत्र बुझाउन आएका संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई अर्थमन्त्री डा. खतिवडाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक तथा व्यवसायीक ऋण दिन सकिने संकेत गरेका थिए ।

‘शैक्षिक योग्यताको प्रमणपत्र राखेर ऋण दिने कार्यक्रम हाम्रै हो, यसको कार्यान्वयनबारे म सकारात्मक छु’, अर्थमन्त्री खतिवडालाई उदृत गर्दै भेटमा सहभागी अनेरास्ववियुका केन्द्रिय सचिव आर.सी लामिछानेले भने । अर्थमन्त्री खतिवडा यतिबेला नयाँ बजेटको निर्माणबारे व्यापक छलफलमा छन् । उनै खतिवडाले आर्थिक वर्ष २०७३/०७४ को सरकारी नीति तथा कार्यक्रममा शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण दिलाउने उल्लेख गराएका थिए ।

सरकारको नीति तथा कार्यक्रममा ८२ औं बुँदामा लेखिएको थियो–वैज्ञानिक, प्राविधिक तथा रोजगारी उन्मुख व्यवसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निर्ब्याजी शैक्षिक ऋण उपलब्ध गराइनेछ ।  सोही आर्थिक बर्षको बजेटमा पनि ‘स्नातक र सो भन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि शैक्षिक प्रमाणपत्रको आधारमा निर्ब्याजी ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।’ भनेर लेखियो । यद्यपी यो व्यवस्था कार्यान्वयन भने हुन सकेन ।

आफैंले अघि सारेको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम यसपाली भने डा. खतिवडाले कार्यान्वयन गर्ने तयारी गरेका छन् । युवा स्वरोजगार कोष जसरी दुरुपयोग हुन नदिने कार्यविधी बनाएर योजना कार्यान्वयन गर्ने अठोट उनले कसेका हुन् ।

उनले शैक्षिक योग्यताको प्रमणपत्र धितो राखेर प्रोजेक्ट लोन (परियोजना ऋण) दिन सकिनेबारे निकटष्थहरुसँग छलफल अघि बढाईसकेका छन् । ‘पढे लेखेको जनशक्तिले पैसा नभएर काम गर्न नपाउने अवस्थाको अन्त्य होस भनेर दुरुपयोग हुन नदिने योजनासहित प्रमाणपत्र धितो राखेर ऋण दिनेबारे छलफलहरु भैरहेका छन्, आगामी बजेटले कुनै न कुनै रुपमा सम्बोधन गर्नेछ’, अर्थमन्त्री डा. खतिवडाका स्वकिय सचिव तुल्सी मैनालीले भने ।

अर्थमन्त्रीले यसरी दिइने ऋण र ऋण मागिएको परियोजनाको बीमा गराएर कार्यक्रम अघि बढाउने प्रारम्भिक सोँच बनाएका छन् । ‘युवा स्वरोजगार कोष जस्तो दुरुपयोग नहोस, प्रमाणपत्र धितो राख्ने बित्तिकै सित्तैमा ऋण आउँछ भन्ने सन्देश पनि नजाओस् भनेर बीमा गराएर परियोजनाका आधारमा पाइलट प्रोजेक्ट सुरु गर्ने तयारी छ’, अर्थमन्त्रालय श्रोतले विकासन्युजसँग भन्यो ।

आइतबार विद्यार्थी संगठनहरुले ‘श्रमलाई उत्पादन र रोजगारीसँग जोडी आयातमुखी अर्थतन्त्रलाई न्युनिकरण गर्दै निर्यात वृद्धि तर्फ विकसित गर्न निश्चित शैक्षिक योग्यताको प्राप्त युवा विद्यार्थीहरुलाई आफ्नो शैक्षिक प्रमणपत्र धितो राखेर शैक्षिक र व्यवसायिक ऋण दिने व्यवस्था यसै आर्थिक बर्षदेखि कार्यान्वयन गर्न बिशेष माग गर्दछौं । यसका लागि अबिलम्ब यस सम्बन्धी आवश्यक नीति, बजेट र कार्यबिधी निर्माण गरि अघि बढ्न हामी जोडदार माग गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.