रसुवा र नुवाकोटमा मात्रै २२८ मेगावाटका जलविद्युत आयोजना निर्माणाधिन, २ वर्षभित्र बिजुली बल्ने

  २०७५ वैशाख १७ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाईमा रसुवा र नुवाकोटमा मात्रै २२८ मेगावाटका आयोजनाको धमाधम निर्माण भइरहेका छन् । कुनै अवरोध नआएमा सबै आयोजना २०७६ भित्र सम्पन्न हुने छन् ।

प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेनको निर्माण धमाधम भइरहेको हो । भूकम्प, त्यसपछि बाढीपहिरो र नाकाबन्दीले गर्दा सबै आयोजनाको निर्माण प्रभावित भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रबार, शनिबार र आइतबार आयोजनाहरुको स्थलगत निरीक्षण गरी निर्माणाधीन आयोजनाको काम तोकिएको समयभन्दा अगाडिनै सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले यसका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएको छ । ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायका बारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पपछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिए ।

‘सबै आयोजनामा तोकिएकै समयमा निर्माण सकिन्छ तर यसका लागि यस्तो त्यस्तो हुनु पर्छ भन्ने गरेको पाइन्छं’, उहाँले भने ,‘अब तर भन्न पाइदैन, आयोजनास्थलका समस्या यहीं समाधान गर्नु होस्, मन्त्रालय तहबाट समाधान गर्नु पर्नेभए भन्नुहोस् त्यसलाई तत्काल समाधान गर्न हाम्रो टिम सधैं तयार छ, तालिककाअनुसार नै काम सकी नमुना आयोजनाको रुपमा अगाडि बढाऔं ।

सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशुली ३ एको निर्माण वैशाख ०७६ मा (३० अप्रिल २०१९)भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले निर्माण गरिहेको त्रिशुली ३ ए–मातातीर्थ २२० केभी प्रसारणलाइनको १४२ वटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै सुरु गर्न नसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।

लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)लाई जिम्मा दिइएको छ । समयमा निर्माण स्थल दिन नसक्दा, विद्युतगृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्प लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । अहिले ठेकेदार कम्पनीको काम विगतमाभन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले जानकारी दिए ।

यस्तै रसुवागढीको समग्र निर्माण प्रगति ६० प्रतिशत छ । आयोजनाले मिति २०७६ साल पुस १५ देखि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाका विद्युत जोड्नका लागि चिलिमे हव–त्रिसुली ३ बी प्रसारणलाइन हवको निर्माण हुनुपर्छ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत खेर आउन नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने अवस्था रहेको बताए । उनले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झण्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गरेका थिए ।

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश ७० र ६० प्रतिशत छ । सान्जेन जलविद्युत कम्पनीका सीईओ किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेके बताए । प्रसारणलाइनको निर्माण गर्न सरकारी जग्गा र बन क्षेत्रको रुख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झण्झटिलो रहेको उनले जानकारी गराए । आयोजनाले विद्युतगृहबाट चिलिमे हवसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनु पर्छ ।

माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने विद्युत प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हव–त्रिशुली ३ बी २२० केभी प्रसारणलाइनसँग समन्वय गरी काम अगाडि बढिउनु पर्ने रहेकोले सो प्रशारणलाईन निर्माण हुने अबधि जुन—जुलाई २०१९ सम्म काम सक्ने गरी निर्माण कार्य अगाडी बढाईएको आयोजनाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.