नयाँ धरहराको फाइनल डिजाइन(भिडियोसहित)

  २०७५ वैशाख १६ गते १७:४१     नारायण पौडेल

काठमाडौं । भूकम्पले भत्काएको तीन बर्षपछि आधुनिक धरहराको डिजाइन तयार भएको छ । पुरातत्व विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणको सुपरिवेक्षणमा केज कन्सल्टले नयाँ धरहराको डिजाइन तयार पारेका हुन् ।

धरहरा कसले बनाउने, कस्तो डिजाइनमा बनाउने र कसरी सञ्चालन गर्ने भन्ने लामो विवाद छिचोल्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणले निर्माण गर्ने टुंगो लागेको छ । नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाकी सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ ।

४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्न राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ ।

पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण विभागका प्रमुख राजुमान मानन्धरका अनुसार आगामी एक साताभित्रै धरहराको टेण्डर निकालिनेछ । आगामी २ महिनाभित्र धराहरा निर्माणका लागि ठेकेदार परिचालन गरिसक्ने योजनासहित प्राधिकरणले काम अघि बढाईरहेको उनले जानकारी दिए ।

पुरातत्व विभागका इञ्जिनियर पोखरेलका अनुसार हाल धरहरा निर्माण हुने स्थलको माटो परिक्षणको काम अघि अन्तिम चरणमा पुगेको छ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.