काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय अभिनेता सलमान खानको कन्सर्ट भाड्ने घोषणा गरेको छ । नेकपा भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरेर सलमान खानको कन्सर्ट रोक्न भनेको हो । कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी पनि महासंघले दिएको छ । फागुन २६ गते खान सहितका भारतीय कलाकारहरुले सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्दैछन् ।

महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ-नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ ।
रक्सीको प्रवद्र्धनको लागि नेपाल आउने र प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट बेच्ने कार्य स्वाभिमानी नेपालीलाई स्विकार्य नभएको उनले स्पष्ट पारेका छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम रोक्न अपिल गर्दै नेकपाको भातृ संगठनले सलमान खानका लागि नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात भएको र नेपाली कला संस्कृतिमा माथीको ठूलो अपमान समेत भएको बताएको छ ।
‘नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ ।’, विज्ञप्तिमा भनिएको छ । सैनिक मञ्चमा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको पनि महासंघको ठहर छ ।
‘हाम्रो सङ्गठन यसप्रकारको भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रतिरोध गर्न तयार छ । भारतीय कलाकार सलमान खानलाई यस्तो गलत कार्यक्रमको बाहना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टलाई उक्त कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महंगो मूल्य तिरेर सो कार्यक्रमको टिकट नकिन्न महासङ्घ हार्दिक आग्रह गर्दछ । जबर्जस्ती गर्न खोजे, अन्यथा रूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिद्वारा स्पष्ट पार्न चाहन्छौँ ।’, विज्ञप्तिमा भनिएको छ ।
महासंघले नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैँ मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न पनि आग्रह गरेको छ ।