नारायणगढ–बुटवल र लुम्बिनी–भैरहवा सडक चार लेन बन्दै, २५ बर्षमा तिर्ने गरि एडिबीले दिँदैछ १८६ मिलियन डलर ऋण

  २०७३ पुष २३ गते १२:५६     विकासन्युज

four-lane_highwayकाठमाडौं, २३ पुस । एसियाली विकास बैंक(एडिबी)को सहुलियत ऋणमा नारायणगढ–बुटवल र भैरहवा–लुम्बिनी सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकका रुपमा स्तरोन्नति हुने भएका छन् । एडिबीले २५ बर्षमा तिरिसक्नुपर्ने सर्तसहित एक दशमलब ५ प्रतिशतको सहुलियत ब्याजदरमा यी दुई सडक निर्माणका लागि १८६ मिलियन अमेरिकी डलर ऋण दिन लागेको हो ।

एडिबीले नारायणगढ–बुटवल खण्डका लागि १६ अर्ब र भैरहवा–लुम्बिनी–तौलिहवा खण्डका लागि २ अर्ब १५ करोड रुपैंयाँ ऋण दिन लागेको हो । यी दुबै सडक निर्माण गर्दा खरिद गरिने समानमा लाग्ने भ्याट भने नेपाल सरकारले व्यहोर्नुपर्नेछ । सो रकमले आगमी साढे तीन बर्षभित्रै नारायणगढ–बुटवल खण्डको ११५ किलोमिटर र भैरहवा–लुम्बिनी खण्डको १८ किलोमिटर सडक चार लेनको बनाइनेछ ।

‘सडकको डिजाइन तथा ऋणको डकुेमन्ट तयार भैसकेको छ, अब दुई पक्षबिच सम्झौता गर्न मात्रै बाँकी छ’, सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय(एडिबी)का इञ्जिनियर प्रदिपराज शाक्यले विकासन्युजसँग भने ।
। ऋण सम्झौता यहि जनवरी महिना भित्रै सम्पन्न गर्ने तयारी भैरहेको पनि शाक्यले जानकारी दिए ।

लुम्बिनीदेखि तौलिहवासम्मको १८ किलोमिटर खण्ड पनि ४ लेनको सडक बन्नेछ । हाल भैरहवा–लुम्बिनी सडक २ लेनको र लुम्बिनी–तौलिहवा सडक सिंगल लेनका छन् । लुम्बिनी क्षेत्र विकास कोषले पौराणिक महत्वका समान नष्ट हुन सक्ने भन्दै लुम्बिनी तौलिहवामा भने डबल लेनको सडक मात्रै बनाउन सकिने बताएको छ । यो सडकको स्तरोन्नति ३ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

एसियाली विकास बैंकले साउथ एसियन सब रेजिओनल इकोनोमिक कोअपरेशन रोड कनेक्टिीभीटी प्रोजेक्ट अन्तर्गत सो सडकको स्तरोन्नतिका लागि सहुलियत ऋण उपलब्ध गराउन लागेको हो । यी दुबै सडकहरुको विस्तृत परियोजना रिपोर्ट(डिपिआर) तयार भैसकेको सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय(एडिबी)का इञ्जिनियर प्रदिपराज शाक्यले बताए । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा ८ किलोमिटर सडक भने डबल लेनको मात्रै हुनेछ त्यसमा फुटपाथ र साइकल लेन राखिने विभागका इञ्जिनियर शाक्यले जानकारी दिए ।

यो आयोजना आगामी साढे तीन बर्षभित्रै सम्पन्न हुने उनले जानकारी पनि दिए । ‘तराईका जनताको जिवनस्तरसँग जोडिएका यी सडककको निर्माण तिब्र गतिहा अघि बढ्नेछ’, विभागका सिनियर डिभिजनल इञ्जिनियर कमलदेव प्रसाद साहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.