काठमाडौं । सरकारले २ हजार ६७४ मेगावाट क्षमताका ७ वटा ठुला जलविद्युत आयोजना जनताको सेयर लगानीबाट बनाउने भएको छ । जलविद्युतमा २ करोड ८० लाख जनतालाई लगानीको अवसर प्रदान गरेर मुलुकको आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ् गर्न जनतालाई जलविद्युत आयोजनामा सेयर लगानी गर्न दिने भएको हो ।

‘नेपालको पानी जनताको लगानीमा, हरेक नेपाली विद्युतको सेयर धनी’ कार्यक्रम अभियानको रुपमा जनताको सेयर लगानी हुने छ । सरकारले जनतको सेयर लगानीबाट ७२५ मेगावाटको अपर अरुण, ४०० मेगावाटको अरुण–, ४०० मेगावाटको तल्लो अरुण, ५०० मेगावाटको किमाथाङ्का अरुण, ४८ मेगावाटको भेरी बबई डाईभर्सन, ५०० मेगावाटको फुकोट कर्णाली र १०१ मेगावाटको तामाकोशी–५ आयोजनामा जनताको सेयर लगानी हुने भएको छ ।
यी सबै आयोजना आकर्षक र नाफामुलक र राम्रो प्रतिफल दिने भएकाले अभियान अन्तर्गत सञ्चालन गरिने भएको छ । राम्रो प्रतिफल दिने आयोजनामा मात्रै जनतालाई सेयर दिने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन बताउछन् । हिमालदेखि तराइसम्मका जनतालाई अपनत्व हुने गरी जलविद्युतमा सेयर लगानी दिने योजना ल्याएको उनले जानकारी दिए ।
सरकारले सार्वजनिक तथा निजी साझेदारमा आयोजना निर्माण गर्ने सरकारको तयारी छ । यसअन्र्तगत वैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्बन्धित मुलुकबाटै जलविद्युत आयाजनाको सेयर खरिदका लागि आवेदन दिने व्यवस्था समेत मिलाइने भएको छ । तत्काल लगानी गर्ने विपन्न वर्गलाई पनि विशेष व्यवस्था मिलाइने उनले जानकारी दिए ।
पछिल्लो समयमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई अनिवार्य रुपमा १० प्रतिशत दिने व्यवस्था भएपछि सर्वसाधारणलाई पनि न्युनतम थप १५ प्रतिशत सेयर दिन थालेका छन् । पछिल्लो समयमा निर्माण हुने अधिकाँश जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर दिने घोषणा समेत गरेका छन् । यसबाट हिमाल, पहाड, तराई–मधेसका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर हुने छ ।
हालसम्म १८ जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भइरहेको छ ।
यस्तै कर्मचारी संचय कोषले पनि संचयकर्ता र जनताको लगानीमा जलविद्युत आयोजना बनाउने भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५८ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसीलगायत निजी क्षेत्रबाट निर्माण हुने अधिकांश आयोजनाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने बताएका छन् । अब सबै जलविद्युत आयोजनामा सर्वसाधारणको लगानी हुने भएको छ ।