
काठमाडौं । ग्राहक पहिचान विवरण ( केवाइसी) का कारण मंगलबार सेयर कारोबारमा भारी गिरावट आएको छ ।
दिनभरको बजारमा जम्मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २८ करोड रुपैयाँ घटी हो । सोमबार कुल ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
केवाइसीका कारणले मंगलबारको सेयर कारोबारमा गिरावट आएको एक ब्रोकरले बताए । फोनका भरमा केवाइसी अद्यावधिक गर्न सकिने भएपछि ग्राहकले चासो नदेखाउदा कारोबार गर्न नपाएको उनको भनाई छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको केवाइसी अद्यावधिक नगर्नेलाई कारोबार गर्न रोक लगाएको छ । “धितोपत्र बोर्डले आजदेखि केवाइसी अनिवार्य गरेपछि यस्तो समस्या आएको हाे” ती ब्रोकरले भने ।
मंगलबारदेखि लागु हुने गरी अद्यावधिक गर्न बोर्डको निर्देशन बमोजिम ब्रोकर कार्यालयले आफ्ना नियमित कारोबार गर्ने लगानीकर्ताको कारोबार रोकेका थिए । जसले गर्दा सेयर कारोबारमा भारी गिरावट देखिएको हो ।
सो दिनको बजारमा जम्मा १४३ कम्पनीको ३ लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ । जबकी अन्य दिनमा १६० भन्दा बढी कम्पनीको सेयर किनबेच हुने गरेको थियो । मंगलबार सबैभन्दा बढी मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
धितोपत्र बोर्डले साढे ४ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न दिएपछि मिर्मिरेको बढी सेयर कारोबार भएको हो । मिर्मिरेको ३ हजार २९४ रुपैयाँको सेयर १०० रुपैयाँमा पाइने भएपछि बढी सेयर खरिद भएको अनुमान गरिएको छ ।