कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मातहतका कार्यालयहरुलाई विशेष निर्देशन दिएको छ । विशेषगरी नापी विभाग, भुमि सुधार तथा व्यवस्थापन विभाग, भु–सूचना तथा अभिलेख विभागलाई सम्बोधन गर्दै सोमबार १९ बुदे निर्देशन पत्र जारी गरेको हो ।
नयाँ संविधान जारी पश्चात मुलुक अहिले संघीयताको पूर्ण कार्यान्वयनको चरणमा छ । सरकारको प्रमुख कार्यदिशा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य प्राप्तीको लागि सुशासन कायम गर्नु पर्ने भन्दै उनले पोशाक लगाउने तथा परिचयपत्र बोक्नेदेखि बेरुजु फर्स्यौटसम्मका निर्देशन दिएका हुन् ।
बुदागत रुपमा यस्ता छन् कृषि मन्त्री खनालका दिर्नेशन
–मन्त्रीबाट घोषणा भएको कृषि, भूमि व्यवस्था तथा सहकारी रुपान्तरण मार्गचित्र, २०७५ मा उल्लेखित विषयलाई कार्यान्वयन गर्न अग्रसरता देखाउने र भएका कार्यप्रगतिको प्रत्येक १५/१५ दिनमा माथिल्लो तहमा अनिवार्य प्रतिवेदन गर्ने । साथै मन्त्रीबाट भएका निर्देशनहरुको हुवहु कार्यान्वयन गर्ने ।
–कार्यालय प्रमुखले नियमित रुपमा आफै प्रत्यक्ष अनियमितताका विषयमा अनुगमन गरी प्रत्येक दिन माथिल्लो तहमा प्रतिवेदन गर्ने ।
–कार्यालयका भौतिक सम्पत्ती, अभिलेख एवं राजस्वलाई सुरक्षित, व्यवस्थित र खोजेको बेला तत्काल प्राप्त गर्ने गरि चुस्त दुरुस्त राख्ने ।
– नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रभाहको व्यवस्था मिलाउने ।
–सेवा प्रदायक कर्मचारीले अनिवार्य रुपमा निर्धारित पोशाक र कर्मचारी परिचयपत्र लगाउने ।
–सबै कर्मचारीहरुलाई कार्यविवरणको व्यवस्था गरी लागु गर्ने ।
–कार्यालयबाट दिइने सेवा तथा त्यसको कार्यवीधि लगायतका विषयमा सूचना पाँटीमा नै सबैले देख्ने गरि राख्ने ।
– कार्यालयको कामलाई पारदर्शी बनाउने तथा मासिक आम्दानी खर्च विवरण प्रत्येक महिनाको ७ गते भित्र कार्यालयको वेवसाइट वा सूचनापाटीमा टाँस गर्ने व्यवस्था मिलाउने ।
– सबै कार्यालयहरुमा सेवाग्राही सहयोग कल (हेल्प डेक्स) निर्माण गर्ने, निर्माण भइसकेको कार्यालयमा सञ्चालनको व्यवस्था मिलाउने ।
– कार्यालयले प्रवाह गरेका सेवाहरुको विषयमा सेवाग्राहीको लिखित पृष्ठपोषण (फीडब्याक) लिने व्यवस्था मिलाउने ।
– कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने ।
– कार्यालयबाट सम्पादन हुने कार्यहरुमा आएका समस्याहरु बारे अग्रसर भई तत्काल समाधान गर्ने, जटिल प्रकृतिका भए माथिल्लो निकायमा तत्काल प्रतिवेदन गर्ने ।
– कार्यालयमा सेवाग्राहीका कार्यहरु तोकिएकै समयमै छिटो छरितो तवरले सम्पादन गर्ने, कार्य अग्रसरता देखाउने ।
– आर्थिक अनुशासन र बेरुजु फर्स्यौटलाई उच्च प्राथमिकता दिने ।
–सुधारका योजना, कार्यक्रम छनौट गर्दा न्यून लागत र उच्च प्रतिफललाई प्राथमिकता दिने ।
– मालपोत तथा नापी कार्यालयहरुमा डकुमेन्ट डिजिटाइजेशन तथा कम्प्युटर डाटा इन्ट्रिको कामलाई उच्च प्राथमिकता दिने ।
– आफ्ना कामबाट सेवाग्राहीको अधिकार तथा सेवाग्राहीको कर्तव्य हुने र कनै गुनासो नआउने गरी कुनै व्यक्तिगत लोभ लालच, दबाव, प्रभावमा नपरी गर्ने गराउने ।
– विगत ६ महिना यता अंशवण्डाका नाममा भए गरेका विभिन्न कित्ताकाटहरुको एकमुष्ठ अभिलेख विवरण मन्त्रालयमा यथासिघ्र पठाउने ।
– पुनश्चात कार्यालयहरुको कार्यसम्पादन नमूनायोग्य, सिर्जनशिल र प्रभावकारी हुन आवश्यक छ । वर्तमान सन्दर्भमा कर्मचारीको मर्यादालाई अझ उच्च बनाई राख्न कर्तव्य निष्ठ रुपमा कार्य सम्पादन गर्नु सरकारी कर्मचारी संयन्त्रको प्रमुख जिम्मेवारी र कर्तव्य हो । माथी उल्लेख गरिएका बुँदाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्नुहुनेछ । यसैको आधारमा तपाईको मूल्याङ्कन हुने व्यहोरा समेत अवगत गराउदछु ।