काठमाडौं । पछिल्लो समय सबैतिर आर्थिक समृद्धिको नारा घन्किरहँदा व्यवहारमा भने त्यस्तो देखिएको छैन । नारा नारामै सिमित भएको देखिन्छ ।
गएको नौ महिनाको अबधिमा मुलकमा विभिन्न औद्योगीक क्षेत्रमा २ खर्ब ५६ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । उक्त परिमाणको लगानी प्रतिबद्धता आइरहँदा अर्कोतर्फ सोही समयावधिमा करिब ४ गुणाबढी विभिन्न मुलुकहरुबाट नेपालमा वस्तु/सामाग्री लगातको आयात भएको देखिन्छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा गएको नौ महिनाको अबधिमा मात्रै ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालय, उद्योग विभागकोअनुसार गएको नौ महिनामा मुलुकभर औद्योगीक क्षेत्रको लागि ३३५ वटा उद्योग दर्ता भएको छ । उक्त दर्ता भएका कृषिजन्य, निर्माण, उर्जामुलक, उत्पादन लगायतका उद्योगहरुको लागि कुल २ खर्ब ५६ अर्ब रुपैयाँ पूँजी लगानीको प्रतिबद्धता आएको हो ।
सरकार तथा निजी क्षेत्रले उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने घोषणा गरिरहँदा अयात भने निरन्तर बढीरहेको देखिन्छ । चलुन नौ महिनामा मुलुकमा पैने नौं खर्ब रुपैयाँको आयात भइरहँदा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।
भन्सार विभागकोअनुसार सबैभन्दा बढी भारतसँग ५ खर्ब ४१ अर्ब रुपैयाँ र चीनसँग १ खर्ब ११ अर्बको रुपैयाँ नेपालको व्यापार घाटा देखिन्छ ।
गएको नौ महिनामा नेपालबाट विभिन्न मुलुकमा ५९ अर्ब ७३ करोड रुपैयाँको मात्रै वस्तु तथा समाग्रीहरुको निर्यात भएको छ । सबैभन्दा बढी भारतमा ३४ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रो बढी संयुक्त राज्य अमेरिकामा ६ अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ ।