काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा कोशी नदिसम्म पानी जहाज ल्याउने सहमति गरेको केहि समयपछि नै मिनी पानी जहाज सञ्चालनमा आउने भएको छ । असोज महिनामा कोशी नदिमा २५ सिट क्षमताको मिनी पानी जहाजको परिक्षण सञ्चालन हुँदैछ ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले असोजदेखि ३ वटा मिनी पानी जहाजबाट बराहक्षेत्रदेखि भोजपुरसम्म जल यात्रा आरम्भ गराउन लागेको हो । २५ सिट क्षमताको जेटबोटले चतरादेखि भोजपुरको सिम्लेसम्म ५०.६० किलोमिटर दुरी पार गर्नेछ । जेटबोट असाजदेखि परिक्षणमा आउने प्रालीका परमर्शदाता प्रकृति कन्सल्टेन्टका म्यानेजर माधव घिमिरेले बताए ।
‘नेपालमा यो जेटबोट पहिलो पटक भित्र्याउन लागिएको हो, यसको प्ररम्भिक लागत ५ करोड अनुमान गरिएको छ, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनेछ,’ म्यानेजर घिमिरेले विकासन्युजसँग भने ।
जेटबोट सुनसरी, उदयपुर, धनकुटा र भोजपुर हुँदै बग्ने सप्तकोशी, सुनकोशी र अरुण नदिमा सञ्चालन हुनेछ । जेटबोट असार र साउनमा नदी बहाब धेरै हुने भएकाले परिक्षणमा ल्याउन नसक्ने प्रालीले जनाएको छ ।
प्रालीले जल यातायात सञ्चालन गर्दा पर्न सक्ने वातावरणीय प्रभावलाई आधार मानी सुझाव माग गरेको छ । यस योजना सञ्चालन गर्दा ४ जिल्लाका ४ नगरपालिकाहरु प्रभावित हुनेछन् ।
प्रभावित हुने नगरपलिकाहरुमा बराह, बेलका, हंतुवागढी र खाल्सा छिन्ताङ शहिदभुमी रहेका छन् । यी नगरपालिकामा रहेका व्यक्ति वा संस्थाले आयोजना सञ्चालन सम्बन्धी लिखित तथा मौखिक सल्लाह तथा सुझाव दिन सक्ने प्रालीले जनाएको छ ।