काठमाडौं । तराईका बाढी पिडित सयौं परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ । अरब मुलुकको गैह्र सरकारी संस्था कतार च्यारिटीको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले उक्त सामग्री वितरण गरेको बताइएको छ ।
गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीको सहयोगमा आरडिसीले रौतहट, सर्लाही लगायतका बाढी पीडित परिवारलाई करिब करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।
आरडिसीले रौतहट तथा सर्लाहीका बाढी पीडित परिवारहरुलाई अस्थायीबासबाट स्थायीतर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई एक किलो छाप्रा वाल किलाका साथमा जस्तापाता वितरण गरेको छ जानकारी गराएको छ ।
त्यस्तै बिद्यालय भर्नामा सहयोग तथा बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराउनका लागि २ हजार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको कतार च्यारेटीको भनाइ छ ।
गत साउन अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटको ८० प्रतिशत भुभाग जलमग्न बनाउदा हजारौ परिवारहरु विस्थापित भएका थिए ।
कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको बताइएको छ ।