काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ झनै कमजोर भएको छ । डलर महंगिएपछि नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिक्री दर १ डलर बराबर १०७ रुपैयाँ ९२ पैसा तोकेको छ । दुई साताअघि १०७ रुपैयाँ ३५ पैसा थियो । वैशाख शुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ ।
भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि डलर मजवुत भई यसको असर नेपाली रुपैयाँमा परेको हो । रिजर्व बैंक अफ इण्डिया (आरबीआई) ले बिहीबार १ डलर बराबर ६७.३७ भारु तोकेको छ । दुई साताअघि १ डलर बराबर ६६.६९ भारु बिक्री मूल्य तोकेको थियो ।
भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ ।
डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ ।
गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । २ महिनाको अवधिमा डलरसंग साढे ३ रुपैयाँ कमजोर भएको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो ।
अमेरिकाको वित्तीय नीति विस्तारकारी हुनुका साथै मौद्रिक नीति कसिलो हुँदा विस्तारै पुँजी अमेरिकातर्फ जान थालेपछि त्यहाँको अर्थतन्त्रमा सुधार आउँदा डलर मजवुत हुन थालेको हो । अमेरिकामा लगानी फिर्ता आउन थालेपछि यसको असर भारतमा पर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन भएको विश्लेषकको भनाई छ ।
केही साताअघि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर १.५ बाट बढाएर १.७ प्रतिशत पुर्याएपछि यसको असर भारुमा परेको हो । फेडरल रिजर्भले ब्याजदर बढाएपछि लगानीकर्ता अमेरिकातर्फ बढी आकर्षित हुदा विस्तारै डलर संचिती घट्दै गएपछि यसको असर भारुमा परेको राष्ट्र बैंकको भनाई छ ।
डलर बलियो हुँदाका बेफाइदा
विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ ।
नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढदा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।