काठमाडौं । गएको नौ महिनामा मुलुकमा ३५ अर्ब ३२ करोड रुपैयाँ वैदेशीक लगानीको प्रतिवद्धता आएको छ । उक्त प्रतिवद्धता गएको वर्षको सोही अवधिकोभन्दा २२३ प्रतिशत बढी हो ।

स्थायी सरकार बन्नु, मुख्य राजनैतिक दलहरुले अर्थिक समृद्धिलाई प्रथमिकतामा राख्नु, लोडसेडीङ हट्नु, पुनर्निमाणको कार्य अघि बढ्नु लगायतका कारणले वैदेशीक लगानीको प्रतिबद्धता बढेको हो । गएको अर्थिक वर्ष साउनदेखि चैतसम्मको अबधिमा १० अर्ब ९२ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको उद्याेग विभागको तथ्याङ्कमा देखिन्छ ।
विभागकाे प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकमा स्थिर सरकार बन्नु र सरकारले आर्थिक समृृद्धिलाई प्रथमिकतामा दिएसँगै वैदेशीक लगानी बढेको बताए । साथै विगतमा गरिएको लगानी सम्मेलनको सकरात्मक प्रभाव अहिले देखिन थालेको उनको भनाइ छ । ‘विगतमा भएका विभिन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुले गरेका लगानी प्रतिवद्धता आउनेक्रममा छन्,’ उनले भने ‘अहिले उर्जा, उत्पादनमूलक क्षेत्रहरुमा उत्साहजन लगानी बढेको छ ।’
उनको अनुसार वैदेशीक लगानी भित्रिनेक्रम जारी छ । मुख्यगरी ठुलठुला परियोजनाहरुमा पछिल्लो समय लगानी बढेको छ । खनिज, कृषि र वन पैदावारको क्षेत्रमा समेत लगानीको आकर्षण देखिएको छ । विभागको तथ्याङ्कअनुसार गएकाे नाै महिनामा सवैभन्दा बढी ऊर्जा क्षेत्रमा लगानी भित्रिएको छ । उक्त उर्जा क्षेत्रमा २२ अर्ब ८ करोड रुपैयाँ लगानी भित्रिएको हो । सोही अबधिमा गएको वर्ष उर्जा क्षेत्रमा कुनै पनि लगानी भित्रिन सकेको देखिन्दैन ।
त्यस्तै दोस्रो बढी खनिज क्षेत्रमा लगानी बढेको छ । सो क्षेत्रमा गएको सोही वर्षको अवधिभन्दा अहिले ६७ गुणा बढी लगानी प्रतिवद्धता आएको हाे । गएको वर्ष ३ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएकोमा चालु वर्षको नौ महिनाको अबधिमा बढेर २ अर्ब रुपैयाँ पुगेको छ ।
गएको वर्षको तुलनामा अधिकांश क्षेत्रमा लगानी बढेको छ । उत्पादन मुलक क्षेत्रमा २७१ प्रतिशत लगानी प्रतिवद्धता बढेको छ । गत आर्थिक वर्षको नौ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएकोमा चालु नौं महिनामा बढेर ५ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको नौं महिनामा कृषि तथा वन पैदावरमा १ अर्ब ८८ करोड, पर्यटन क्षेत्रमा १ अर्ब ७२ करोड, सेवा क्षेत्रमा १ अर्ब ३७ करोड र सूचना प्राविधिक क्षेत्रमा २६ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । गएको सोही अवधिमा ती क्षेत्रहरुमा क्रमशः १६ करोड, ४ अर्ब ९८ करोड, ४ अर्ब १० करोड, ३ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको थियो ।
विभागकोअनुसार गएको वर्षको तुलनामा चालु वर्षको नौ महिनामा कृषि तथा वन पैदावार क्षेत्रमा साढे ११ गुणा, सञ्चार प्रविधि क्षेत्रमा साढे ७ गुणा वैदेशीक लगानी बढेको छ । यद्यपि सेवा र पर्यटनको क्षेत्रमा भने गएको वर्षको तुलनामा यो वर्ष क्रमशः ६६ र ६५ प्रतिशत घटेको छ ।
गएको नौं महिनाको अबधिमा वैदेशीक लगानी रहेको २२६ कम्पनी उद्योग विभागका दर्ता भएका छन् । ती उद्योगहरुको कुल पूँजी ३८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । दर्ता भएका उद्योग/परियोजनाहरु सञ्चालन अाएसँगै मुलुकमा ८ हजार ५४४ संख्यामा रोजगारी सृजना हुने उद्योग विभागले जानकारी गराएकाे छ ।