काठमाडौं । तपाईले महंगो ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्नु भएको छैन ? सस्तो ब्याजको खोजिमा हुनुहुन्छ ? अब चिन्ता नलिनुस् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सबैभन्दा सस्तो छ । बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदरले २८ बैंकमध्ये सबैभन्दा सस्तो देखाएको हो ।

गत चैतसम्म राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२० प्रतिशत छ । यसमा ५ प्रतिशत प्रिमियम जोड्दा राष्ट्रिय वाणिज्यको ११ प्रतिशत ब्याजमा कर्जा पाउन सकिने सार्वजनिक नयाँ दरले देखाएको छ । आधार र स्प्रेडदर जोड्दा ११.१५ प्रतिशत हुने बैंकले जनाएको छ ।
अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याजदर स्ट्याण्डर्ड चाटर्ड बैंकको थियो । स्ट्याण्डर्डलाई पछि पार्दै राष्ट्रिय वाणिज्य सस्तो दरमा कर्जा दिने भएको हो । कर्जाको सस्तो ब्याजदर हुनेमा राष्ट्रिय वाणिज्यपछि नेपाल बैंक र त्यसपछि मात्र स्ट्याण्डर्ड चाटर्ड देखिएको छ ।
अधिकाँश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि छ । तर राष्ट्रिय वाणिज्यको आधार दर सबैभन्दा कम रहेकाले कर्जाको ब्याजदर अन्यको भन्दा सस्तो हुन पुगेको हो । केही वाणिज्य बैंकको ब्याजदर आधारमा प्रिमिय जोड्दा १८ प्रतिशतसम्म पुगेको छ ।
बैंकले निक्षेपमा दिने ब्याज कम भएपछि कर्जाको ब्याजदर अन्य बैंकको भन्दा सस्तो हुन गएको हो । बैंकले सामान्य वचतमा २ देखि ४ प्रतिशत ब्याज दिने गरेको छ । मुद्धति निक्षेपमा न्युनतम साढे ५ देखि ७ प्रतिशत हारहारीमा छ । अधिकाँश बैंकले साधारण निक्षेपमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिएका छन् ।
राष्ट्रिय वाणिज्यको औद्योगिक र हाउजिङ तथा रियलस्टेट कर्जा न्युनतम ९.७ देखि अधिकतम ११.७ प्रतिशतसम्म छ । यस्तै आवास कर्जा (होमलोन) वर्षअनुसार फरक छ । ५, १० र १५ वर्षको होमलोनको ब्याजदर भने फरक छ । होम लोनको ब्याजदर न्युनतम ९.२ देखि अधिकतम १२.२ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ दरमा सवारीसाधन कर्जा (अटोलोन) न्युनतम ९.२ देखि अधिकतम् १०.२ प्रतिशतसम्म रहेको छ । सेयरधितो कर्जा पनि न्युनतम १०.२ देखि अधिकतम १२.६ प्रतिशत छ । यसैगरी कृषि, व्यक्तिगत, ओभर ड्राफट कर्जा पनि सस्तो छ ।
सबैभन्दा महंगो ब्याजदर हुनेमा सरकार स्वामित्वकै कृषि विकास बैंक रहेको छ । कृषि विकासको आधार ब्याजदर सबैभन्दा बढी १२.७२ प्रतिशत छ । यो आधार दर राष्ट्रिय वाणिज्यको भन्दा दोब्बर बढी छ । कृषि विकासले ५ प्रतिशत प्रिमियम जोड्दा उसको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ ।
नेपाल बैंकको ७.११ प्रतिशत छ । यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको ७.२० प्रतिशत छ । अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याज स्ट्याण्डर्ड चाटर्डको थियो । स्ट्याडर्ड चाटर्डको आधारदर ५ प्रतिशत तल रहेकोमा बढेर ७ प्रतिशत कटेको छ । अघिल्लो त्रैमाशमा बैंकको आधारदर ५.८ प्रतिशत मात्र थियो ।
यस्तै नविल बैंकको आधार दर ७.३३ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१२ प्रतिशत छ । अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि रहेको हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ । महंगोमा निक्षेप उठाएपछि लागत बढ्न गई आधार ब्याजदर महंगो हुन गएको हो । गत फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ र निक्षेपको ६.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
बढी आधार ब्याजदर हुनेमा कृषि विकासपछि निजी क्षेत्रको सिभिल बैंक भएको छ । सिभिलको आधारदर १२.३६ प्रतिशत छ । १२ प्रतिशत भन्दा बढी आधार ब्याजदर हुनेमा सेञ्चुरी कमर्शियल बैंकको १२.६ र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको १२.३ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो समयमा बैंकर्सले मुद्धति निक्षेपमा ११ र साधारणमा ८ प्रतिशत ब्याज लिने आन्तरिक सहमति जनाएका छन् ।