काठमाडौं । पछिल्लो समय समृद्ध कर्णालीको नारा लिएर अगाडी बढिरहेको प्रदेश नं ६ मा अवस्थित सुर्खेतबासीले पनि इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने भएका छन् ।
१६ हजार ग्राहक रहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्त संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै इसेवाबाट महशुल भुक्तानी गर्न सकिने सेवा दिएको हो । कम्पनीले आफ्ना सबै क्रियाकलाप अटोमेशनमा लगेको जानकारी दिएको छ ।
त्यस्तै विरेन्द्रनगर नगरपालिकाका स्थानीय खानेपानीको महशुल भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । संस्थाले अनलाइन पेमेन्टका साथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेशनमा लगेको छ ।
दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको हो ।
यो सफट्वेयरले बिलिङ, लेखा पद्धती, जिन्सी व्यवस्थापनदेखि मिटर रिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्ने कम्पनीको भनाइ छ ।
संस्थाका अध्यक्ष कुलमणी देवकोटाले भने ‘प्रविधिको प्रयोग नगर्दा हामीलाई सेवा दिन निकै गाह्राे भइरहेको थियो । ग्राहक धेरै हुँदा ३/४ घण्टा लाइनमा बसी महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो ।’ इसेवासँगको सहकार्यले अब लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ उनकाे भनाइ छ ।
यसअघि सुनसरीकोे इटहरी खानेपानी, भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी, पर्वतको कुश्मा खानेपानी लगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका जानकारी दिइएको छ ।
कम्पनीकोअनुसार प्रविधिमार्फत खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेशनबाट गर्न सकिन्छ । आफ्नो मोबाइल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सकिन्छ ।
अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने भएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ ।
सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ ।