काठमाडौं । पाँच वटा कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुले सैद्धान्तिक स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कमोडिटिज एक्सचेञ्ज कम्पनी सञ्चालनका लागि आवेदन दिन बोर्डले उपलब्ध गराएको समय अवधीभित्र ५ वटा कम्पनीले निवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नेपाल कमोडिटिज एक्सचेञ्ज लिमिटेड, मर्कन्टाइल एक्सचेञ्ज लिमिटेड, कमोडिटिज फ्युचर्स एक्सचेञ्ज लिमिटेड, मल्टी डेरिभेटिभ एक्सचेञ्ज नेपाल लिमिटेड र राइजल कमोडिटी एण्ड एक्सचेञ्ज लिमिटेडले आवेदन दिएका हुन् ।
ती कम्पनीहरुले न्युनतम ५० करोडको पुँजी संरचना तयार पारेर सैद्धान्तिक सहमतिका लागि धितोपत्र बोर्डमा बुझाएका हुन् । बोर्डले सैद्धान्तिक सहमति दिएपछि मात्रै ती कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताको प्रक्रिया आरम्भ गर्नेछन् । ‘पाँच वटा कम्पनीहरुले आवेदन दिएका छन्, हामी अध्ययन गरिरहेका छौं, त्यसपछि कम्पनी स्थापनाका लागि सैद्धान्तिक सहमति दिन्छौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने ।
कमोडिटिज एक्सचेञ्ज कम्पनीमा मारवाडी समुदायदेखि एनआरएनहरुले सम्म रुचि देखाएका छन् । नेपालको ठुला व्यवसायीक घराना दुगड, अग्रवाल, जैन, हुलासचन्द र मुरारका अर्गनाइजेशनले मर्कन्टाइल एक्सचेञ्जमा लगानी गरेका छन् । नेपाल कमोडिटिज एक्सचेञ्जमा एनआरएनहरुको लगानी रहनेछ । त्यस्तै, कमोडिटिज कम्पनीमा बिभिन्न बाणिज्य बैंक तथा इन्स्योरेन्स कम्पनीहरुले समेत लगानी गरेका छन् ।
धितोपत्र बोर्डले २०७४ मंसिर ९ गतेदेखि कमोडिटिज् मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको थियो । सो नियमावली अनुसार कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने थियो । त्यस्ता कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनुपर्ने व्यवस्था थियो ।
बोर्डले पुर्व स्वीकृति दिएपछि मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पाइन्छ । बोर्डले वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।
यी सामानको कारोबार गर्न पाइन्छ
वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ ।
त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ ।
यस्तै बजारको कुल सेयर पूँजीको ५ प्रतशितभन्दा बढी स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको ३ वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि स्वामित्व लिएको व्यक्तिले हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।