२० अर्ब खर्चेर इटहरी-बिराटनगर मोनोरेलः निजी क्षेत्रले गर्दैछ धमाधम अध्ययन

<p>काठमाडौं । इटहरी देखि बिराटनगरसम्म मोनोरेल बनाउने प्रक्रिया सुरु भएको छ । नेपालमै पहिलो पटक निजी क्षेत्रको पहलमा इटहरी-बिराटनगर खण्डमा ३५ किलोमिटर लम्बाईको मोनोरेल निर्माण गर्न लागिएको हो । मोनोरेल निर्माणका लागि ७ जना व्यवसायीले बिराट मोनोरेल इन्टरनेशनल प्राली नामको कम्पनी दर्ता गरेर अध्ययन अघि बढाईसकेका छन् । ‘हामीले कम्पनी खडा गरेर अध्ययन अघि बढाईसकेका [&hellip;]</p>

काठमाडौं । इटहरी देखि बिराटनगरसम्म मोनोरेल बनाउने प्रक्रिया सुरु भएको छ । नेपालमै पहिलो पटक निजी क्षेत्रको पहलमा इटहरी-बिराटनगर खण्डमा ३५ किलोमिटर लम्बाईको मोनोरेल निर्माण गर्न लागिएको हो । मोनोरेल निर्माणका लागि ७ जना व्यवसायीले बिराट मोनोरेल इन्टरनेशनल प्राली नामको कम्पनी दर्ता गरेर अध्ययन अघि बढाईसकेका छन् । ‘हामीले कम्पनी खडा गरेर अध्ययन अघि बढाईसकेका छौं, २० अर्बको लागत लाग्ने प्रारम्भिक रिपोर्ट आएको छ, विदेशी लगानी ल्याउनेबारे पनि छलफल भैरहेको छ’, बिराट मोनोरेल इन्टरनेशनलका अध्यक्ष परमानन्द मेहताले विकासन्युजसँग भने ।

मोनोरेल निर्माणका लागि स्थानीय तहहरुसँग प्रारम्भिक अनुमति समेत लिईसकिएको अध्यक्ष मेहताले जानकारी दिए । कम्पनीका प्रबन्ध निर्देशक काजीमान आत्रेयले तीन बर्षभित्र निर्माण सम्पन्न हुने गरि प्रक्रिया अघि बढाएको र हाल रेल विभागसँग समन्वयको काम भैरहेको पनि बताए । ‘काम सुरु गरेको ३ बर्षभित्र निर्माण सम्पन्न गरेर मोनोरेल सञ्चालन गर्ने योजनासहित अघि बढेका छौं, अहिले रेल विभागसँग समन्वय गरिरहेका छौं’, प्रबन्ध निर्देशक आत्रेयले विकासन्युजसँग भने ।

३५ किलोमिटर लामो डबल ट्रयाकमा ४ वटा डब्बा रेल गुडाउनु उपयुक्त हुने प्रारम्भिक अध्ययनले देखाएको आत्रेयले बताए । मोनोरेल ५० देखि ७० किलोमिटर स्पिडमा गुड्नेछ । पहिलो चरणमा इटहरी–बिराटनगरसम्म निर्माण हुने मोनोरेललाई पछि धरानसम्म विस्तार गर्ने योजना रहेको पनि आत्रेयले खुलासा गरे । विदेशी लगानी समेत भित्र्याएर पीपीपी मोडलमा निर्माण गर्ने बारे छलफल भैरहेको आत्रेयले जानकारी दिए ।‘विदेशी लगानीकर्ताहरुले पनि सकारात्मक रुपमा लिएका छन्, हामी पीपीपी मोडलमा निर्माण गर्ने सोँचमा छौं’, उनले भने ।

रेल विभागले पनि इटहरी बिराटनगर मोनोरेल सञ्चालनका लागि नीजी क्षेत्रले प्रक्रिया अघि बढाएको स्वीकार गरेको छ । विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन्, लागत, निर्माणको मोडल, लागत उठ्ने समय, राज्यको भूमिका लगायतका बिषय समेटेर प्रस्ताव ल्याउन भनिएको बताए । ‘निजी कम्पनीले मोनोरेल बनाउनेबारे हामीसँग छलफल गरेको छ, हामीले केहि कागजात मागेका छौं, निजी क्षेत्रले मोनोरेल बनाउने प्रस्ताव गर्नु नेपालमा रेलको विकासका लागि सकारात्मक कुरा हो’, विभागका सीडीई उपाध्यायले भने ।

Share News