काठमाडौं । काठमाडौं । स्नातक तह उत्तीर्णहरुले पनि अब बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन पाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ मार्फत स्नातक उत्तीर्णहरुले पनि बीमा कम्पनीको सिइओ बन्न पाउने व्यवस्था गरेको हो ।

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति
अब बीमा, व्यवस्थापन, वित्त, अर्थशास्त्र, गणित, इञ्जिनियरिङ, लेखा, चाटर्ड एकाउण्टेन्सीमा स्नातक उतिर्ण गरेर बीमा क्षेत्रमा १२ बर्ष, बैंक तथा वित्तिय क्षेत्रमा १५ बर्ष वा दुबै क्षेत्रमा भए एक बर्षको अनुभवनसहित १३ बर्ष काम गरेकाहरुले बीमा कम्पनीको सीईओ बन्न पाउनेछन् ।
तिनै बिषयहरुमा स्नातकोत्तर उत्तीर्णहरुले भने बीमा क्षेत्रमा पाँच बर्ष, बैंक तथा वित्तिय क्षेत्रमा ८ बर्षको अनुभव हासिल गरेपछि सीईओ बन्न पाउनेछन् । अब बीमा कम्पनीका सिइओहरुले एउटा कम्पनी छाडेको ६ महिनापछि मात्रै अर्काे कम्पनीमा सीईओ बन्न पाउनेछन् । बीमा समितिले लामो छलफलपछि आइतबारदेखि लागु हुने गरि बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ ल्याएको हो ।
अब सीईओहरुले ७० बर्षसम्म मात्रै जागिर खान पाउनेछन् । सीईओहरुले ४ बर्षको व्यवसायीक योजना सञ्चालक समितिमा पेश गर्नुपर्नेछ । सञ्चालक समितिले सीईओले पेश गरेको व्यवसायीक योजना, तलब सुबिधा र करार सम्झौतासहितको विवरण बीमा समितिमा बुझाउनुपर्नेछ । बीमा समितिले चाहेको खण्डमा कारणसहित सच्याउन निर्देशन समेत दिन सक्ने व्यवस्था अघि सारिएको छ ।
त्यस्तै, निर्देशिकाले बीमा कम्पनीमा डेपुटी सीईओ अनिवार्य गरेको छ । अब आगामी ६ महिनाभित्र सबै बीमा कम्पनीहरुमा डेपुटी सीईओको नियुक्ती गरिसक्नुपर्नेछ । प्रत्येक पाँच पाँच बर्षमा बीमा कम्पनीहरुले डिडिए गराउनुपर्नेछ । अब बीमा कम्पनीका सञ्चालकहरुले विदेश भ्रमण जाँदा बीमा समितिको स्वीकृति लिनुपर्ने छैन् । सञ्चालकहरुले बीमा समितिलाई जानकारी गराएर विदेश भ्रमण्मा जान सक्नेछन् । समितिले बीमा कम्पनीका सञ्चालकहरुको भत्ता सम्बन्धी आधार पनि तोकिदिएको छ ।