
काठमाडौं । सरकारले केही महिनाभित्र देशभरी सडक रुटमा यातायात कम्पनीबीच प्रतिस्पर्धा गराएर मात्र गाडी सञ्चालनको इजाजत दिने भएको छ । सिण्डिकेट हटाउने अभियान अन्र्तगत सरकारले निजी कम्पनीबीच प्रतिस्पर्धा गरेर सवारी सञ्चालनको तयारी थालेको हो ।
रुट अध्ययनको प्रतिवेदन आएपछि विभागले प्रतिस्पर्धाबाट सवारीसाधन सञ्चालन गर्न दिने सुचना अधिकृत तुलसीराम अर्यालले बताए । उनले रुटको अध्ययन प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको बताउदै आउदो २ महिनाभित्र रुटको प्रतिस्पर्धा सुरु हुने जानकारी दिए ।
पहिलो चरणमा मध्यपश्चिम र सुदुरपश्चिमको रुटको अध्ययन गरेर प्रतिवेदन तयार अन्तिम चरणमा पुगेको उनले बताए । “आउदो २ महिनाभित्र रुटको विस्तृत अध्ययन सम्पन्न भएपछि प्रतिस्पर्धा गराएर मात्र सवारीसाधान सञ्चालनमा आउने छन्” उनले भने “हाल समितिको शिफारिशमा भएको जस्तो हुदैन व्यसायीबीच प्रतिस्पर्धा हृुने छ ।” रुटमा यात्रुको संख्या र यातायात सञ्चालन गर्ने कम्पनीको विवरण लिने उनले बताए ।
उनले शुक्रबार बन्द हुने सवारीसाधानको विवरण संकलन कार्य जारी रहेको बताउदै यातायात सञ्चालन नगर्नेको धमाधम रुट इजाजत निलम्बन गर्ने उनले जानकारी दिए । अबको विकल्प अरुलाई रुट खुला गर्ने उनले बताए ।
नयाँ यातायात व्यवसायीले रुट माग्नसाथ दिने उनले स्पष्टपारे । जानीजानी सवारीसाधन बन्द गर्नेको रुट आजैबाट निलम्बन हुने उनले जानकारी दिए । विभागले देशभरी रुट अध्ययन गराउने र प्रतिस्पर्धाबाट दिने काम भईरहेको उनले सुनाए । प्रतिस्पर्धामा गएपछि सवारीसाधन यात्रुमैत्री र स्वच्छ हुने छ ।
विभागमा ३० लाख ५३ हजार सवारीसाधन दर्ता भएका छन् । त्यसमध्ये २४ लाख ६ हजार मोटरसाइकल, ४८ हजार ४५८ ठुलाबस, २४ हजार ८७२ मिनीबस, ८३ हजार ७१० ट्रक, कार र जीपको संख्या २ लाख ७० हजार ६६५, पिकअप ५१ हजार ९०, माइक्रोबस ६ हजार ६५७, ट्याम्पु ३९ हजार ५७५ रहेका छन् । ट्याक्टर र पावर टेल १ लाख ८५६ रहेको विभागले जनाएको छ ।