काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका विरुद्ध निजी क्षेत्रका व्यसायीले शुक्रबार सडकमा गाडी गुडाउने भएका छन् । महासंघको आन्दोलनलाई निस्तेज पार्न निजी क्षेत्रबाट स्थापना भएका २१० कम्पनीका ५५ हजार भन्दा बढी सार्वजनिक सवारी सडकमा गुड्ने भएका हुन।
महासंघले पुर्वनिर्धारित कार्यक्रमअनुसार आफ्नो मातहतमा रहेका सबै सवारी घर तथा ग्यारेजमा थन्काउने भएपछि सिन्डिकेटको विरोधमा रहेका यातायात कम्पनीले सवारी चलाउन लागेका हुन् ।
नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीका अनुसार महासंघको मातहतमा रहेका सबै सवारी सञ्चालन हुनेछन् । “हामीले पनि सरकारसँग ६ बुँदे माग राखेका छौं, त्यसका लागि २५ गतेसम्म समय दिएका छौं,”तर त्यो भन्दा अघिसम्म सवारी सञ्चालन गर्नेछौं,” शिवाकोटीले विकासन्युजसँग भने ।
सर्वोच्च महासंघले पञ्जिकरण, २० वर्ष पुराना गाडी र सर्वोच्चको सुनुवाईलाई आधार मानेर ६ बुँदे माग यातायात मन्त्रीसँग राखेका छन् ।यसैगरी बामपन्थी यातायात व्यवसायीहरुले समेत यस आन्दोलनमा सहभागी नहुने जनाइसकेको छ ।
व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले वार्ताबाटै सबै समस्याको समाधान गनुपर्नेमा जोड दिएका छन् । यो हिसाबले हेर्ने हो भने झन्डै १ लाख भन्दा धेरै सार्वजनिक सवारी सञ्चालनमा आउने देखिन्छ ।
हाल देशभर करिब २ लाख सार्वजनिक सवारी सञ्चालमा रहेका छन् । नयाँ सञ्चालनमा आएका व्यवसायीहरुले पनि सवारी सञ्चालन गर्ने बताइसकेका छन् । साझाको ३९ र मयुर यतायातको २४ ठुला बस सहित बन्दको बेलामा पनि सेवा दिने बताइसकेका छन् ।यस्तै गृहमन्त्रालयले पनि सवारी नियम उल्लङघन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पुर्वनिधारित कार्यक्रम अनुसार नै आन्दोलनमा जाने तयारी गरेको छ । महासंघको सचिव सरोज सिटौलाले बैशाख २१ गते सबै सार्वजनिक सवारी घर तथा ग्यारेजमा थन्काइने जानकारी दिए ।
“सरकारले एकतर्फी रुपमा आफ्नो कुरा मात्र लादेको छ, यातायातका निर्देशिका तथा नियामावली संशोधन गर्दा कुनैपनि यातायात व्यवसायीसँग छलफल गरिएन यसको विरुद्धमा हामी अझ कडा आन्दोलनमा जानेछौं,”सिटौलाले भने ।
सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । नेपाल आयल निगम लिमिटेड पेट्रोलियम ट्याङकरले ढुवानी सेवा बन्द गरे अनुमतिपत्र रद्ध गर्ने चेतावनी दिएको छ ।