काठमाडौं । बिहीबारको कारोबारमा सामान्य सुधार भएको छ । बजार समान्य अंकले बढ्दा ७६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३८ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच
भएको थियो ।
कूल १६९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । यस कम्पनीको कारोबार रकमका साथै सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन एक लाख ६० हजार ६३६ कित्ता सेयर ५ करोड ७३ लाख ४९ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ ।
यस कम्पनीको नाफा र सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका सेयर बजारका विश्लेशकहरु बताउँछन् । नेपाल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ । साथै, बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ रहेको छ ।
बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । एकैदिन यस कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ ।
बिहीबार होटल र अन्य बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ७५ अंकले उकालो लागेको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र उत्पादनमूलक समूह दोहोरो अंकले उकालो लागेका छन् ।
समग्रमा नेप्से परिसूचक ५.७७ अंकले बढेर १३६६ अंकमा पुगेको छ । सो दिन नेप्सेमा ०.४२ प्रतिशत वृद्धि भएको छ ।