काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाको काम गर्न डेढ दर्जन निजी कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । विद्युतीय भुक्तानी प्रणालीलाई अझ व्यवस्थित र जनतामाझ पुर्याउन केन्द्रीय बैंकले निजी क्षेत्रका १८ कम्पनीलाई एलओआई दिएको हो ।
राष्ट्र बैंकले हालसम्म भुक्तानी सेवा प्रदाय र संचालकको काम गर्न ५ वटा संस्थालाई अनुमति दिइसकेको छ । विद्युतीय भुत्तानी सेवा सञ्चालन गर्न ई सेवा प्राइभेट लिमिटेड, आईएमई पे प्राइभेट लिमिटेड, प्रभु पे, सेलकम प्राइभेट लिमिटेड लगायतलाई इजाजत दिएको छ ।
आवश्यक पूर्वाधारको काम सकेपछि १८ वटैलाईलाई भुक्तानी प्रणाली सञ्चालनका लागि इजाजत दिने राष्ट्र बैंक स्रोतले बतायो । आशयपत्र पाएको एक वर्षभित्र आवश्यक पूर्वाधार तयार गरेर अन्तिम स्वीकृति लिन केन्द्रीय बैंक आउनु पर्ने स्रोतले जानकारी दियाे । एक वर्षभित्र पनि नआएमा आशयपत्र स्वतः रद्द हुनेछ ।
आशयपत्र लिएका कम्पनीले भुक्तानी प्रणाली सञ्चालनका लागि आवश्यक पुर्वाधार, व्यवसायीक योजना, प्रवन्धपत्र नियमावली र कर्मचारीको संख्या सहित न्युनतम पुर्वाधार तयारीको विवरण पेश गरेपछि मात्र अनुमति पाउने छन् । केन्द्रीय बैंकले कागजी नोटको प्रचलन घटाउन विद्युतीय भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो ।
राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन गर्न अपरेट तथा क्लियरिङको काम र अर्को वालेट सेवा सञ्चालनका लागि स्वीकृति दिने गरेको छ । वालेटबाट बिजुलीको बिल, टेलिफोन, इन्टरनेटको बिललगायत सबै प्रकारको भुक्तानीका आरित्त बैंकमा रकम जम्मा गर्दा र झिक्दा समेतको जानकारी मोवाइलमार्फत आउने छ । वालेटको काम हाल ई सेवा प्राइभेट लिमिटेडले प्रभावकारी रुपमा गरिरहेको छ ।
केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकको काम गर्न बैंक तथा वित्तीय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैकिङ्ग, एसएमएस बैकिङ्ग, मोबाइल बैकिङ्ग, आदि सेवा सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । हालसम्म २८ वाणिज्य बैंक, २ वटा विकास बैंक र १ वित्त कम्पनीले इजाजत पाएका छन् ।
विद्युतीय भुक्तानीलाई सुरक्षित, विश्वसनीय एवम् व्यावहारिक बनाउन बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा लगायतका विद्युतीय माध्यमबाट गरिने कारोबारको मापदण्ड, प्रक्रिया र सीमाका सम्बन्धमा निर्देशन जारी गरिएको छ ।
सेलकम हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ : सम्पादक