काठमाडौं । बैंकिङ प्रणालीमा स्थायीत्वको कुरा हामीले धेरै गर्यौं । स्थायीत्वका क्रममा संख्यात्मक वृद्धि र सुपरिवेक्षणको गुणात्मक तथा संख्यात्मक कमजोरी पनि हाम्रो बाटोमा चुनौती थिए । पहिले पहिले बैंक तथा वित्तीय संस्था जति आए, एक सरो हेरेर लाइसेन्स दिइन्थ्यो । पछि त राष्ट्र बैंकको गेटमै पुगेर लाइसेन्स दिन थालिएको थियो भनेर साथीहरुले ठट्टा गर्नुहुन्थ्यो । व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको लाइसेन्स दिन राष्ट्र बैंक भित्र जानै पर्दैन, गेटबाटै पाइन्छ भन्नुहुन्थ्यो ।
बैंक तथा वित्तीय संस्थाहरुको संख्या झण्डै ३ सय पुगेको थियो । मुस्किलले २।३ बर्षमा स्थलगत निरिक्षणमा पुग्न सकिने अवस्था थियो । त्यो अवस्थामा म राष्ट्र बैंकको नेतृत्वमा पुगेको थिएँ । कति बैंक तथा वित्तीय संस्थाको त नामै सुनेको हुन्नथ्यो । घुम्दै जाँदा बोर्ड देखेर, ए यहाँ पनि बैंक रहेछ भन्ने अवस्था थियो । विकास बैंक र लघुवित्त कम्पनीको हालत उस्तै थियो ।
मैले मर्जरको योजना अघि सारेँ । मर्जरको कुरा ल्याउँदा धेरै विवाद ल्याउन खोजियो । कतिपयले यो गभर्नरले मर्जर गरेर संख्या घटाउँछ र लाइसेन्स खोलेर भटाभट बेच्छ भन्ने आरोप पनि लगाउन भ्याए । ती पत्रकारहरुलाई आज मेरो प्रश्न छ, तपाईहरुले आज एक पटक आफुलाई पुनः मूल्यांकन गर्नुस् । आफु कहाँ हुनुहुन्थ्यो र आज के भैरहेको छ, हेर्नु होला । हामी रिपिटेड्ली भेट भैरहन्छौं र छलफल गरिरहन्छौं । हामीले आफुलाई सत्य प्रमाणित गराउँदै आएका छौं र फेरी पनि गराउनेछौं । हाम्रा विरुद्ध लेख्नेहरु फेरी पनि गलत सावित हुँदै जानेछन् ।
२ वा ५ बर्षपछि म पदमा नरहँदा पनि यो चुनौतीको सामना गर्न म तयार हुनेछु । मेरो मूल्यांकन गर्न हिजो के भनेको थिएँ र आज कै भैरहेको छ, मैले हिजो भनेको र गरेको कामले के नतिजा दिईरहेको छ भनेर हेर्नु होला । फेरी पनि मेरो मूल्यांकन गर्न केहि बर्ष पर्खनुस, मैले आज भनेका र गरेका कुराहरुले भोली के नतिजा ल्याउँछ त्यो पनि हेर्नु होला । हामीले बोलेका कुरालाई तथ्यका आधारमा लेख्नोस् । आलोचना गर्नुस्, अफवाहमा पत्याउनेवाला कोहि पनि छैन् ।
श्वेत पत्रमा राज्यको ढुकुटी लगभग रित्तिदैँ छ भनियो । त्यो भनेको ट्रेजरी हो, त्यो भनेको सरकारको सञ्चित खातामा कति पैसा छ भन्ने हो । अर्थशास्त्र पढेका साथीहरुले पनि जीडिपी यति बढेको छ ट्रेजरी कसरी घट्यो भन्नु भएछ । कति अर्थशास्त्र पढ्नु भएछ उहाँहरुले ? आर्थिक वृद्धि ६ प्रतिशत हुनेवाला छ भनेर त लेखिएकै छ । नेपालका उद्योगी व्यापारीको ढुकुटी रिक्तियो त मैले भनेकै छैन् । उहाँहरुको ढुकुटी त भरिएकै छ । ऋण लिएर सबैले नाफै कमाएका छन् । तर सरकारको आफ्नो खर्च गर्ने क्षमतामा ह्रास आएको छ, ढुकुटीमा पैसा छैन् ।
८ खर्बको अतिरिक्त दायीत्व रहन सक्छ । तत्कालिन दायीत्व हाम्रो ८ देखि १० खर्बको छ । अर्काे एक बर्षको बजेट सिंगै दायीत्व निर्वाह गर्यौँ भने बल्ल हामी जमिनमुनी गएको ट्रेजरी सतहमा ल्याउन सक्ने अवस्था छ । सबै अर्थशास्त्रीले यसरी नै बुझिदिनुपर्छ । अर्थशास्त्रको अब्जेक्टिभ एनालाइसिस हुन्छ, मनोगत एनालाइसिस हुन्न । अर्थशास्त्रको मनोगत एनालाइसिस गर्नेहरु अर्थशास्त्री हुन सक्दैनन् । राष्ट्र बैंकका साथीहरुलाई केहि कुरा भन्न चाहान्छु । वित्तिय प्रणालीमा चक्रिय संकटहरु आईरहन्छन् । ती संकटहरुको सामना गर्न राष्ट्र बैंक सबै रुपले तयार हुनुपर्छ । राष्ट्र बैंक चुप लागेर बस्यो भने फेरी समस्या आउन सक्छ ।
स्थलगत निरिक्षणको कामलाई बढाउने, निरक्षणको गुणस्तर अभिवृद्धि, राम्रा सञ्चालकलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कानुनको दायरामा ल्याउनु पर्छ । फाइलहरु लुकाउने, गायब गराउने, मुलाहिजा गर्नेहरुलाई कारवाही गर्नुस् । त्यस्तलाई कारवाही नगर्नेहरुलाई सम्बन्धीत निकायहरुले कारवाही गर्छन् । मलाई पनि नराम्रो गर्दा कारवाही गर्ने निकाय छ । राष्ट्र बैंकले पनि राम्रो गरेन भने कारवाही गर्ने निकाय छ, यो कुरा कान खोलेर हामीले सुन्नु पर्छ । दण्डहिनता अशोभनिय मात्रै होइन, असह्य छ । वित्तिय प्रणालीमा हुने अपराध असह्य छ । जो सुकैले वित्तिय प्रणालीमा आघात पुरुयाउँने काम गर्छ भने कानुनको दायरामा ल्याउनु पर्छ । ल्याउन नसक्नेले कारवाही भोग्न तयार हुनुपर्छ । म अति सोझो, स्पष्ट र पारदर्शी व्यवहार गर्न चाहान्छु, अरुबाट पनि त्यस्तै अपेक्षा गर्छु ।
जहाँसम्म ३० बर्षे सेवा अवधीको कुरा छ, सबै संस्थाका साथीहरुले ३० बर्ष सेवा गरेपछि खुसी साथ विदा हुने मनस्थिती बनाउनुस् । ३० बर्ष सेवा गरेर पेन्सन वा उपदान लिएर संस्था भन्दा बाहिर गएर नयाँ काम गर्ने वातावरण बनाउनुस् । २/४ जनालाई रोजगारीको अवसर सृजना गराउनुस् । गतिशिल बन्न सकियो भने मात्रै प्रगाति हुन्छ । एकै ठाउँमा टाँसिएर बस्ने कुराले जीवनमा प्रगति सम्भव हुन्न ।
(राष्ट्रिय बाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार आरम्भ कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले व्यक्त गरेको विचार)