महंगो र सस्तो ब्याजको प्रतिस्पर्धामा निजीलाई सरकारी बैंकको चुनौती

<p>काठमाडौं । सबैभन्दा सस्तो र महंगो कर्जा दिनेमा सरकार स्वामित्वका बैंक रहेका छन् ।  कुल २८ वाणिज्य बैंक मध्ये सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य सबैभन्दा सस्तो ब्याजमा कर्जा दिने बैंक भएको छ । राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२ प्रतिशत मात्र रहेकाले सस्तो कर्जा दिने बैंक भएको हो । आधार ब्याजदर सस्तो भएकाले राष्ट्रिय वाणिज्यको कर्जाको ब्याजदर [&hellip;]</p>

काठमाडौं । सबैभन्दा सस्तो र महंगो कर्जा दिनेमा सरकार स्वामित्वका बैंक रहेका छन् ।  कुल २८ वाणिज्य बैंक मध्ये सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य सबैभन्दा सस्तो ब्याजमा कर्जा दिने बैंक भएको छ । राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ६.२ प्रतिशत मात्र रहेकाले सस्तो कर्जा दिने बैंक भएको हो ।

आधार ब्याजदर सस्तो भएकाले राष्ट्रिय वाणिज्यको कर्जाको ब्याजदर अन्य बैंकको भन्दा सस्तो देखिएको छ । ५ प्रतिशत प्रिमियम जोड्दा पनि वाणिज्य बैंकको ब्याजदर अन्य बैंकको भन्दा सस्तो हुने देखिएको हो ।
सबैभन्दा महंगो ब्याजदर हुनेमा सरकार स्वामित्वकै कृषि विकास बैंक रहेको छ । कृषि विकासको आधार ब्याजदर सबैभन्दा बढी १२.७२ प्रतिशत बढी छ । यो आधार दर राष्ट्रिय वाणिज्यको भन्दा दोब्बर बढी छ । कृषि विकासले ५ प्रतिशत प्रिमियम जोड्दा उसको ब्याजदर १८ प्रतिशत पुग्ने देखिन्छ ।

राष्ट्रिय वाणिज्यपछि कम आधार ब्याजदर हुनेमा सरकार स्वामित्वकै नेपाल बैंक रहेको छ । नेपाल बैंकको ७.११ प्रतिशत छ । यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको ७.२० प्रतिशत छ । अघिल्लो ३ महिनामा सबैभन्दा सस्तो ब्याज स्ट्याण्डर्ड चाटर्डको थियो । स्ट्याडर्ड चाटर्डको आधारदर ५ प्रतिशत तल रहेकोमा बढेर ७ प्रतिशत कटेको छ । अघिल्लो त्रैमाशमा बैंकको आधारदर ५.८ प्रतिशत मात्र थियो ।

यस्तै नविल बैंकको आधार दर ७.३३ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९.१२ प्रतिशत छ । अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत माथि रहेको हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ । महंगोमा निक्षेप उठाएपछि लागत बढ्न गई आधार ब्याजदर महंगो हुन गएको हो । गत फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ र निक्षेपको ६.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बढी आधार ब्याजदर हुनेमा कृषि विकासपछि निजी क्षेत्रको सिभिल बैंक भएको छ । सिभिलको आधारदर १२.३६ प्रतिशत छ । १२ प्रतिशत भन्दा बढी आधार ब्याजदर हुनेमा सेञ्चुरी कमर्शियल बैंकको १२.६ र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको १२.३ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो समयमा बैंकर्सले मुद्धति निक्षेपमा ११ र साधारणमा ८ प्रतिशत ब्याज लिने आन्तरिक सहमति जनाएका छन् ।

तरलतामा हुने तलमाथिले गर्दा नेपालमा २/३ वर्षको अवधिमा मुद्रा ब्याजदरको अस्वभाविक रुपमा ब्याजदरको उतारचढाव भएको छ । कहिले धेरै तरलता हुने र ब्याजदर न्युन विन्दुमा पुग्ने र कहिले तरलता कम भएर ब्याजदर धेरै माथि जाने गरेको छ । यी दुबै अवस्था अर्थतन्त्रका लागि राम्रो भने हैन् ।

धेरै कम वचत र कर्जाको ब्याजदर माथि हुनु दुबै अर्थतन्त्रका लागि राम्रो नभएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङाना बताउछन् । “पछिल्लो समयमा वित्तीय क्षेत्रमा साइकिलिङ टाइपको समस्या पुनरावृत्ति हुने देखिएको छ” उनले भने ब्याजदर स्थायी हुनुपर्छ ।”

सरकारी खर्च समयमा नहुने, रेमिट्यान्स घट्दो , इलेक्ट्रोनिक भन्दा क्यासवेस बैंकिङ कारोबार र घरघरमा नगद राख्दा बजारमा तरलतामा तलमाथि हुने गरेको उनको भनाई छ । बैंकहरुले पनि निक्षेप परिचालन कम भयो भनेर अनावश्यक रुपमा कर्जाको ब्याजदर बढाउन तर्फ लाग्न नहुने ढुङानाको सुझाव छ ।

ब्याजदर वृद्धिले लागत बढाउछ र अन्तत उत्पादन महंगो हुन गई नेपाली उद्योगको प्रतिस्पर्धा क्षमतामा कमी आउने ढुङानाको तर्क छ । “निक्षेपको वृद्धि कम र कर्जाको वृद्धि बढी भएपछि घर्षण भएको हो” उनले भने “पछिल्लो समयमा हामीले कर्जा लगानीलाई कम गरेका छौ ।”

कुन बैंकको आधार ब्याजदर कति ? (प्रतिशतमा)

बैंक अफ काठमाण्डु ११.७८
जनता बैंक ११.६६
एनएमबी बैंक १०.९२,
स्ट्याण्डर्ड चाटर्ड बैंक ७.२०
नेपाल इन्भेष्टमेन्ट बैंक ९.१२
हिमालयन बैंक ९.४२
लक्ष्मी बैंक ११.३५
नेपाल एसबीआई बैंक ९.८९
ग्लोबल आईएमई बैंक ११.६८
नेपाल बैंक ७.११
सनराइज बैंक ११.३४
सानिमा बैंक १०.६३
सिटिजन्स बैंक ११.१५
एभरेष्ट बैंक ८.१८
सिद्धार्थ बैंक ११.३०
प्रभु बैंक १०.१७
कृषि विकास बैंक १२.७२
कुमारी बैंक ११.६२
नविल बैंक ७.३३
माछापुच्छ्रे बैंक ११.१०
नेपाल बंगलादेश बैंक ११.६०
सिभिल बैंक १२.३६
राष्ट्रिय वाणिज्य बैंक ६.२
सेन्चुरी कर्मर्शियल बैंक १२.६
प्राइम कमर्शियल बैंक ११.१०
एनआईसी एसिया बैंक ११.५०
मेगा बैंक ११
नेपाल क्रेडिट एन्ड कमर्श बैंक १२.३

Share News