काठमाडौं । लगानीयोग्य पुँजीको समस्या समाधानका लागि मेगा बैंकले पनि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने भएको छ । बैंकले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग ऋण लिनका लागि प्रक्रिया अघि बढाएको छ ।
राष्ट्र बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि मेगा बैंकले पनि प्रक्रिया अघि बढाएको हो । आईएफसीसंग ऋण लिनका लागि छलफल थालेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुन्जेलीले बताइन् ।
बैंकलाई थप लगानी गर्न पुँजीको आवश्यकता भएको छ’, उनले भनिन्, नेपाल राष्ट्र बैंकले समेत ऋण लिने नीतिगत व्यवस्था गरेकोले यसको फाइदा हामी पनि लिने छौं ।’ उनका अनुसार मेगाले पहिलो चरणमा आईएफसीबाट ऋण लिने भएको छ ।
उनले विदेशबाट लिने ऋणको डलर जोखिम हुने भएकाले यसलाई न्युनिकरण गर्नका लागि हेजिङ फण्ड स्थापना गर्नुपर्ने बताइन् । डलरमा ऋण लिँदा जोखिम धेरै भएकाले यसको न्युनिकरण हुने गरी ऋण लिने तयारीमा रहेको छाै’, उनले भनिन् । आईएफसीसंग समझदारी गरेपछि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि निवेदन दिने उनले जानकारी दिइन् ।
राष्ट्र बैंकका अनुसार मेगाको प्राथमिक पुँजी ८ अर्ब ९६ करोड ४० लाख रुपैयाँ रहेकाले न्युनतम् २ अर्ब रुपैयाँ बराबर विदेशी बैंकबाट ऋण लिन पाउनेछ । प्राथमिक पुँजीको २५ प्रतिशत मात्र ऋण लिने व्यवस्था भएकाले मेगाले २ अर्ब रुपैयाँ ऋण लिन पाउने भएको हो । प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ भएका बैंकले मात्र विदेशी संस्थाबाट ऋण लिन पाउने छन् ।
यस्तै, एनएमबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र सनराइज बैंकले विदेशबाट ऋण ल्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेका छन् । विदेशबाट ऋण लिनका लागि एनएमबी बैंक र एनआईसी एसिया बैंकले मात्र स्वीकृति मागेका छन् । एनएमबीले डेढ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति मागेको छ । उसले विश्व बैंकअन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग ऋण सम्झौता गरेको छ ।
चुक्तापुँजी, संचित कोष (रिजर्भ) प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ ।
२८ वाणिज्य बैंकको प्राथमिक पुँजी ३ खर्ब ११ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । नेपालका बैंकले ७८ अर्ब रुपैयाँ विदेशबाट ऋण लिन पाउने छन् । ८ अर्ब रुपैयाँ चुक्तापूँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् । सबैभन्दा बढी ऋण लिन कृषि विकास बैंकले पाउने भएको छ । कृषि विकासले साढे ५ अर्ब रुपैयाँ विदेशबाट ऋण लिन पाउने छ ।
१२ अर्ब रुपैयाँ प्राथमिक पुँजी भएको बैंकले ३ अर्ब रुपैयाँसम्म विदेशी बैंकबाट ऋण लिन पाउने छन् । ७ वटा बैंकको प्राथमिक पुँजी १२ अर्ब रुपैयाँ भन्दा बढी छ । यी बैंकले न्युनत्म ३ देखि बढीमा साढे ५ अर्ब रुपैयाँसम्म ऋण लिन पाउने छन् ।
गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो ।