
काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामा १०३ प्रतिशत नाफा बढाएपछि मंगलबार लगानीकर्ता लोभिदा बढी कारोबार भएको छ । बैंकले चैतसम्म नाफा बढाएर ६३ करोड रुपैयाँ पुर्याएपछि लगानीकर्ता आर्कषक नाफामा लोभिएका हुन् । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा कमाएको थियो ।
कारोबार बढेसंगै सेञ्चुरीको सेयर मूल्य ५ रुपैयाँ बढेर प्रतिकित्ता १९८ रुपैयाँमा भएको छ । सोमबार १९३ रुपैयाँमा कारोबार भएको थियो । बजार घटिरहेका बेला सेञ्चुरीको मंगलबार २ करोड ७६ लाख रुपैयाँ बराबरको १ लाख ३९ हजार ३९९ रुपैयाँमा सेयर किनबेच भएको छ ।
सस्तो सेयर भएको र नाफा राम्रो गरेपछि लगानीकर्ताले सेञ्चुरीको सेयर किनेको एक ब्रोकरले बताए । नेपाल बैंकको नाफा राम्रो देखिएपछि सोमबार लगानीकर्ताले बढी सेयर किनेका थिए ।
बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ ।
५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।