
काठमाडौं । गण्डकी विकास बैंकले ३ महिनामा खुदनाफा १४ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३४ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकले २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
गत आवको ९ महिनामा बैंकले २७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा कर्जा लगानी, निक्षेप परिचालन र नाफामा विस्तार भएको जानकारी दिएको छ ।
बैंकको निष्क्रिय कर्जा ०.८४, निक्षेप लागत ९, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.३८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.३० र आधार ब्याजदर १२.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.६९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले ७० करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर २० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी बढेर १८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।