काठमाडौं । नयाँ वर्ष सुरु भएपछि सेयर बजारमा सकरात्मक संकेत देखापरेको छ । गत वर्षको चैतसम्म बजार निरन्तर घट्दै गएर लगानीकर्तामा निराशा देखापरेकोमा बैशाख लागेपछि बजारमा सुधारको संकेत देखिएको छ । कारोबार भएको ५ दिनमा सेयर बजार १११ अंकले बढेको छ ।
गत बिहीबार सेयर बजार घटेर १ हजार २७७ अंकमा रहेकोमा बढेर १ हजार ३८८ अंक पुगेको छ । आइतबारदेखि सुरु भएको वृद्धि बिहीबारसम्म कायम रहेको छ ।
सेयर बजार बढ्ने संकेत देखिएको लगानीकर्ताको भनाई छ । बजारमा लगानीयोग्य पुँजीमा केही सुधार हुनुका साथै नेपाल राष्ट्र बैंकले विदेशी बैंकबाट लगानी ल्याउन वाणिज्य बैंकलाई खुला गरेपछि यसको सकरात्मक प्रभाव बजारमा परेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउछन् ।
आगामी दिनमा बैंक ब्याजदरमा पनि गिरावट आउने भएकाले ठुला लगानीकर्ताको प्रवेश भएपछि बजारले अझ गति लिने उनको तर्क छ ।
लगानीकर्तामा रहेको मार्जिन कलको ह्याङ हट्नुका साथै कम्पनीको वित्तीय विवरण धमाधम आउने क्रममा रहेको आगामी दिनमा सुधार हुने देखिने उनको तर्क छ । मार्जिन कलको ह्याङ ३ महिनालाई हटेको उनको भनाई छ ।
यस्तै ब्रोकर सेमीअटोमेसनमा गएको र आउदो ३ महिनामा सेयर बजार अनलाईनमा जाने भएकाले आगामी दिन सेयर बजारका लागि सुनौलो दिन भएको उनको भनाई छ । पछिल्लो समयमा नेप्से परिसूचकमा भएको वृद्धिसंगै कारोबार रकम पनि बढेर १ अर्ब १२ करोडको रुपैयाँसम्म पुगेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको सेयरबजार प्रतिको नकरात्मक टिप्पणीले पनि बजार घटाउन सहयोग पुगेको लगानीकर्ताको भनाई छ । सेयर बजारलाई अनुत्पादक भनेपछि बजारमा भारी गिरावट आएको थियो ।
यता बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढेर १५ प्रतिशत पुगेको छ ।