बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशका सम्पूर्ण अवस्था चित्रण हुने गरी ‘स्थिति पत्र’ सार्वजनिक गर्ने भएको छ । प्रदेशका सम्पूर्ण अवस्थाको चित्रण गरी तयार गरिएको स्थिति पत्र अब बस्ने प्रदेशसभा बैठकमार्फत सार्वजनिक गर्ने सरकारले निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थिति पत्र स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति समेत दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
उक्त स्थिति पत्र चैत २९ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।
मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, रोजगारी, आयलगायका विषय समेटी तयार गरिएको स्थिति पत्र प्रदेशसभालाई जानकारीका लागि मात्र बैठकमा पेश गरिने तर, पारित गर्नुपर्ने बाध्यता नरहेको मन्त्री चौधरीले बताए ।
प्रदेश सरकारले तयार गरेको स्थिति पत्रलाई आधार मानेर सरकारले आगामी बजेट तथा योजना निर्माण गर्ने र यसको आधारमा निर्माण भएका बजेट तथा योजना सन्तुलित बन्ने सरकारले विश्वास लिएको समेत उनले बताए ।
प्रदेश ५ मानव सूचकांकका हिसाबले चौँथो तहमा रहेको स्थिति पत्रमा देखाइएको छ । यो प्रदेशमा करिब ४४ लाख जनसंख्या रहेकामा सबैभन्दा बढी आठ लाख ८८ हजार जनसंख्या रुपन्देहीको छ भने सबैभन्दा कम जनसंख्या रुकुम रहेकोसमेत मन्त्री चौधरीले जानकारी दिए ।
प्रदेश ५ मा २५ दशमलव ८ प्रतिशत कुल गरिबीको अवस्था देखिएकोमा यसमा सबैभन्दा गरिबीको रेखामुनि ३५ दशमलव ५ प्रतिशत कपिलवस्तुमा रहेको स्थिति पत्रमा देखिएको मन्त्री चौधरीले जानकारी दिए । रासस