काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को सेयर मूल्य घटेर अहिले थप निष्कासन (एफपीओ) को भन्दा कम भएको छ ।
सोमबार बजार घटेर बीपीसीको सेयर मूल्य प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । कम्पनीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो ।
पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो ।
बीपीसीले नयाँ सेयरधनीलाई समेत गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
५०१ रुपैयाँमा एफपीओ किन्नेले जम्मा २० रुपैयाँ मात्र लाभांश पाउने भएका छन् । कम्पनीको सेयर मूल्य बढ्ने भन्दा पनि घट्ने क्रममा रहेकाले लगानीकर्ताले राम्रो प्रतिफल पाउने देखिन्दैन् ।
नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ । थप निष्कासन (एफपीओ) खरिद गर्नेले पनि लाभांश पाउने भएका छन् ।