काठमाडौं । साउनयता बैंक तथा वित्तीयलगायत विभिन्न ३९ कम्पनीले साढे २१ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्न स्वीकृति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनेमा अधिकाँश बैंक तथा वित्त र बीमा कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा गरी २१ करोड ४८ लाख ९५ हजार कित्ता हकप्रद निष्कासन गरेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले ८ अर्ब, विकास बैंकले साढे २ अर्ब र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्तापँुजी पुराउनु पर्ने व्यवस्था गरेपछि हकप्रद सेयर निष्कासन गरेका हुन् । स्वीकृति पाएका मध्ये अधिकाँशले हकप्रद सेयर निष्कासन गरिसकेका छन् । भरखरै स्वीकृति पाएकाले निष्कासनको तयारी गरेका छन् ।
अनुमति पाएका मध्ये सबैभन्दा बढी हकप्रद सेयर मेगा बैंकले निष्कासन गरेको छ । मेगाले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो । यस्तै प्रभु बैंकले २ अर्ब ३५ करोड २५ लाख, सिभिल बैंकले २ अर्ब ७ करोड ४० लाख, कुमारी बैंकले १ अर्ब १९ करोड ३८ लाख र सिद्धार्थ बैंकले ६८ करोड २६ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गरेका छन् । कुमारी बाहेक सबै बैंकले हकप्रद निष्कासन गरेका छन् ।
हकप्रद निष्कासन गरेपछि सबै बिक्री नहुदा पुनः लिलामी हुदै आएको छ । संस्थापक लगानीकर्ताले पनि हकप्रद सेयरका लागि आवेदन नदिएपछि बिक्री नभएको हो ।
१८ कम्पनीको ९ अर्ब ५८ करोड पाइपलाइनमा
विभिन्न कम्पनीको ९ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने तयारीमा छन् । यसमध्ये सबै भन्दा ठुलो हकप्रद नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको छ । एनसीसीले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंक तथा वित्त र बीमा बाहेक अपी पावर कम्पनी लिमिटेड र श्रीराम सुगर मिल्स लिमिटेडले हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । अपीले नयाँ आयोजना बनाउन र श्रीरामले उत्पादन क्षमता बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
श्रीरामले ३ सय, एनसीसी बैंकले १०० र अपीले २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसंग अनुमति मागेका छन् ।
हकप्रद निष्कासन गरेका विवरण प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला