काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु) आउदो साता सकिने भएको छ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको ९ किलोमिटरमध्ये बिहीबारसम्म ३७ मिटरमात्र खन्न बाँकी छ ।

एक साताभित्र सुरुङ खन्ने काम सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवत्ता राजेन्द्रप्रसाद पन्तले बताए । सुरुङ खन्नेकाम थोरै मात्र बाँकी रहेकाले एक साताभित्र सम्पन्न हुने उनले स्पष्टपारे ।
मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७. ५ किलोमिटर छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले जानकारी दिए । सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना (सिएमसी) सँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । यसले पनि ढिलाइ गरेपछि पटकपटक म्याद थप गरी अन्तिम अवधि यो महिनासम्म तोकिएको छ ।
पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७/१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ ।
याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ ।
पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।