
काठमाडौं । अनुमन बढी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक कुमारप्रसाद दाहाललाई हटाएका छन् । मन्त्री यादवको ठाडो आदेशमा महानिर्देशक दाहाललाई मंगलबार सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्री नियुक्त हुनसाथ बजार अनुगमनलाई अझ तिब्र बनाउने घोषणा गरेका मन्त्री यादवले व्यवसायीको दवावमा महानिर्देशकलाई हटाएका छन् । महानिर्देशक हटाइएपछि कर्मचारीले बजार अनुगमन छाडेका छन् ।
विभागका महानिर्देशक दाहालले आफुलाइ सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको जानकारी दिए । ‘मलाई मंगलबार सरुवा गरेको हो,’ उनले भने ‘आइतबारदेखि हाजिर गर्नेछु ।’
पछिल्लो समय विभागले सम्वेदनशिल ठूला माछा भनिएका मुलुकको स्वास्थ्य, अटोमोबाइल, सुन, निर्माण सामाग्री लगायतको क्षेत्रमा व्यापक अनुगमन गरेको थियो । जसअन्तर्गत अनियमित गर्ने विभिन्न अस्पताल, गाडी कम्पनीहरु, सुन व्यवसायी लगायतलाई कानुनको दायरामा ल्याएका थिए ।
त्यसो त निजी क्षेत्रको दवावमा चैतदेखिनै मन्त्रालयले अनुगमन नगर्न निर्देशन दिएको कारणले विभागले गर्दै आएको दैनिक अनुगमन ठप्प भएको थियो । अहिले कर्मचरीहरुले कामविहिन भएर बस्नु परेको गुनासो सुनाउछन् ।