काठमाडौं । सरकारले सेयर बजारको विकासका लागि ठुलो परिमाणको लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार गर्ने संकेतलाई लगानीकर्ताले पत्याएनन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको औल्याएका थिए । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधार गर्ने श्वतेपत्रमार्फत संकेत गरेका छन् ।
श्वेतपत्रमा नीतिगत सुधारका कुरा आएपछि आइतबारदेखि बजारमा केही सुधार हुने अपेक्षा गरिएको थियो । सो विपरित बजार २४ अंकले घट्यो । नेप्से परिसुचक १ हजार १ सय भन्दा तल झरेको छ । यसबाट सरकारलाई सेयर बजारले नपत्याएको स्पष्ट हुन्छ ।
सेयरको मूल्य घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ३१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार खुलेको ५० मिनेटमै साढे ३३ अंकले घटेको बजार विस्तार सम्हालिदै २४ अंकमा सीमित भएको छ । बैंकिङ, होटल, बीमा, जलद्यिुत, बीमा, लघुवित्त र उत्पादनमुलकलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।
अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधारको कुरा गरेपनि नेपालको पुँजीबजार सतही भएको र दायरा पनि संकुचित भएको उल्लेख गरेका थिए । उनले बजार धितोपत्र कारोबारमा मात्र सिमित रहेको र यसलाई ऋण बजारको रुपमा विकास नसकिएको बताएका छन् ।