काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले सेयरधनीको लागि ८० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४३ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४३ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ९७ करोड २० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँमा कारोबार भएको छ ।