काठमाडौं । नविल बैंकले अग्रिम ब्याज भुक्तानी दिने योजना बन्द गरेको छ । गत चैत ८ गतेदेखि कार्यान्वयनमा आएको नविल बम्पर मुद्धति योजना शुक्रबारदेखि बन्द भएको बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना रोक्ने सुचना बाहिर आएपछि बैंकले योजना रोक्ने निर्णय गरेको हो ।
अग्रिम ब्याज भुक्तानी योजना बन्द गरेर मासिक ब्याज भुक्तानी निक्षेप योजना लागु भएको बैंकले जानकारी दिएको छ । बैंकले निक्षेप बढाउन ११ प्रतिशत ब्याज अग्रिम भुक्तानी दिने भनेको थियो ।
बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भित्रिने र प्रणालीगत जोखिम समेत बढ्ने भन्दै राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना बन्द गराउन तयारी थालेको थियो ।
अग्रिम ब्याज भुक्तानीले अस्वस्थ प्रतिस्पर्धा ल्याइ भविष्यामा बैंकिङ प्रणालीमा समस्या आउने राष्ट्र बैंकले भनेपछि यसलाई बन्द गरिएको नविलका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । उनले अब अग्रिम नभइ मासिक रुपमा ११ प्रतिशतका दरले मुद्धति निक्षेपको ब्याज भुक्तानी हुने जानकारी दिए ।
पछिल्लो समय नविल बैंक, एनआइसी एसिया बैंक र बैंक अफ काठमाण्डूले अग्रिम ब्याज भुक्तानी योजनाबाट निक्षेप संकलन अघि बढाईसकेका छन् ।