काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा रेलमार्ग सम्बन्धी तीन एजेण्डा उच्च प्राथमिकतामा पर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले नेपाल भारत जोड्ने रेलमार्गका तीन वटा एजेण्डालाई प्रमुखताका साथ उठान गराउने तयारी थालेको हो । श्रोतका अनुसार ओलीको भ्रमणमा जनकपुर–जयनगर रेलमार्गको सञ्चालन मोडालीटी, काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको निर्माण र गड्डाचौकी–खटिमा रेलवे लाइन जोड्ने बिषयमा छलफल हुनेछ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा रेलमार्ग सम्बन्धी एजेण्डा उच्च प्राथमिकतामा छन्, हामीले रेलका तीन वटा एजेण्डा प्राथमिकताका साथ उठाउने तयारी गरिरहेका छौं’, श्रोतले भन्यो । परराष्ट्र मन्त्रालयले भौतिक पुर्वाधार मन्त्रालय तथा रेल विभागका अधिकारीहरुसँग प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने एजेण्डाबारे ब्रिफिङ लिइसकेको श्रोतले बतायो ।
भारत सरकारले १० अर्बको लागतमा जयनगर-जनकपुर-कुर्तासम्मको ३६ किलोमिटर रेलवे निर्माण गरिदिएको छ । सो रेल वे लाइनमा ६ वटा डब्बा तान्न सक्ने गरि २ वटा इञ्जिन राख्ने तयारी भैरहको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो रेल वे सञ्चालनको मोडालिटीबारे छलफल हुनेछ । नेपालले इञ्जिन र जनशक्ति आउट सोर्सिङ गरेर २ बर्षभित्र आफ्ना जनशक्ति तयार पार्न प्रस्ताव अघि सार्ने श्रोतले बतायो ।
त्यस्तै, काठमाडौं-बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका बिषयमा पनि महत्वका साथ कुरा उठाउने तयारी नेपालको छ । हाल रेल विभागले काठमाडौं-बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौटको काम अन्तिम चरणमा पुर्याइसकेको छ ।
त्यस बाहेक कञ्चनपुरको गड्डा चौकी–खटिमा जोड्ने रेलवे लाइनको अनुमति पनि नेपालले माग्नेछ । भारतले पुर्वश्चिम रेलमार्गका लागि जलपाइगुडी–काकडभिट्टा जोड्ने लाइनको अनुमति दिएको छ । तर नेपालबाट बाहिरिने गड्डाचौकी–खटिमा लाइनमा भने अझै अनुमति दिएको छैन् । हाल नेपाल र भारत जोड्ने बिभिन्न पाँच नाकामा रेलमार्ग निर्माण अघि बढिसकेको छ ।