
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अब सिङगापुर बिर्साउने गरि नेपालको विकास हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को सातौं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने–अबको केहि बर्षपछि मान्छेहरुले सिङगापुर भन्न छाड्नेछन्, किनकी नेपाललाई हामी त्यो भन्दा राम्रो बनाउँछौं, विकास गराउँछौं ।’
प्रधानमन्त्री ओलीले अहिले नेपालको अर्थतन्त्र मृत सागर जस्तै गहिरो दलदलमा फसेको पनि बताए । तर मृत सागरमा फसेको अर्थतन्त्रलाई उकासेर विकास र समृद्धिको मार्गमा आफुले हिडाउने प्रतिवद्धता पनि ओलीले व्यक्त गरे ।
‘अहिले हाम्रो अर्थतन्त्र मृत सागर( डेड सी’मा फसेको छ, जुन समुन्द्री सतह भन्दा पनि ४५० मिटर तल छ, तर हामी यसलाई उकासेर समृद्ध नेपाल निर्माण गरि छाड्ने छौं’, ओलीले भने । उनले विज्ञान र प्रबिधिको उपयोगद्धारा नेपालको विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाउने प्रतिज्ञा पनि व्यक्त गरे ।
‘बैशाख ५ गते ३६ हजार जनप्रतिनिधीलाई एक एक जना बालबालिकालाई विद्यालय भर्ना गराउन पनि ओलीले निर्देशन दिए । हामी ३६ हजार निर्वाचित जन प्रतिनिधी छौं, सबैले आफ्नो परिवारका बाहेक एक जना गरिब, अनाथ तथा पिछडिएको वर्गका बालबालिकालाई विद्यालय भर्ना गराउनुस्, म पनि एक जना बालक बालिकालाई विद्यालयमा भर्ना गराउँदैछु’, ओलीले भने ।
म कर्णाली प्रदेशको पहिलो पर्यटक
प्रधानमन्त्री ओलीले आफु चैत अन्तिम दिन रारा ताल पुगेर त्रिपालमा बास बस्ने बताए । उनले भने-‘म चैत अन्तिम दिन रारा पुगेर त्रिपालमा बस्छु, नयाँ बर्ष कर्णाली प्रदेशबाट सुरु हुन्छ र म कर्णाली प्रदेशको पहिलो पर्यटक बन्नेछु ।’