बीपीसीको सेयरमा ६१ करोड हाल्न एउटै लगानीकर्ता तयार, सेयर बाँडफाँट नीति गलत भएको अण्डरराइटरको निष्कर्ष

<p>काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी)ले ४० लाख ८१ हजार कित्ता सेयर थप निष्काशन (एफपीओ) जारी गर्यो । २८ लाख ५९ हजार १७० कित्ताको लागि मात्र आवेदन पर्यो । बिक्री हुन बाँकी २९.९४ प्रतिशत अर्थात १२ लाख २१ हजार ८३० कित्ता सेयर अण्डरराईटर एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीएल क्यापिटल, नविल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई क्यापिटल किन्नु [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी)ले ४० लाख ८१ हजार कित्ता सेयर थप निष्काशन (एफपीओ) जारी गर्यो । २८ लाख ५९ हजार १७० कित्ताको लागि मात्र आवेदन पर्यो । बिक्री हुन बाँकी २९.९४ प्रतिशत अर्थात १२ लाख २१ हजार ८३० कित्ता सेयर अण्डरराईटर एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीएल क्यापिटल, नविल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई क्यापिटल किन्नु पर्ने भएको छ । उक्त सेयर किन्न अण्डरराईटरहरुले ६१ करोड २१ लाख ३६ हजार ८३० रुपैयाँ लगानी गर्नुपर्ने भएको छ । कम्पनीहरुले गरेको प्रतिवद्धताका आधारमा समानुपातिक हिसावले सेयर किन्नुपर्छ ।

बुधबार एफपीओको बाँडफाँट गर्ने क्रममा अण्डरराईटरहरुले भने सेयर निष्काशन तथा बाँडफाँट नीतिमा भएको कमजोरीले आवदेन कम परेको हो । बीपीसीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक र अण्डरराईटर समेत रहेको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले भने– ‘बुटवल पावर कम्पनीको एफपीओ बिक्री नहुनुमा नीतिगत कमजोरी रहेको छ । व्यक्ति तथा कम्पनीहरुबाट ८५ हजार ६१४ वटा आवेदन गरेका छन् । आवेदनको संख्या सानो होइन । सेयर आवदेन तथा बाँडफाँट सम्बन्धि नीति र संरचनाको कारण सेयर बिक्री भएन ।’

‘८५ हजार लगानीकर्ताको तर्फबाट औषतमा ३३ कित्ता मात्र आवेदन पर्यो । त्यो पनि संस्थागत लगानीकर्ताको समेतलाई औसतिकरण गरिएको छ’ उनले थपे–‘२० हजार ४०० कित्ता आवेदन गरेपनि ५० कित्ता मात्र पाइने हो भने किन बढी आवेदन गर्ने भन्ने मान्छेमा पर्यो । त्यसैले धेरैले १० कित्ता मात्र पाइने अपेक्षामा ३० देखि ५० कित्ता मात्र आवदेन गरे । पैसै नभएका मान्छेले आवेदन गरेका होइनन्, नीतिगत कमजोरी हो ।

‘अण्डरसब्स्क्राइब भईसकेपछि पनि २०४०० कित्ताको सीमा किन राख्नु पर्यो ?’ धितोपत्र बोर्डलाई लक्षित प्रश्न गर्दै उनले भने–‘अहिलेसम्म अण्डरसब्स्क्राइब भएको थिएन । सेबोनको नीतिलाई पनि हामीले ठिकै मानेका थियौ । भविष्यमा यस्तो अवस्था आउँदा अधिकतम आवदेन गर्ने सीमा किन नहटाउने ?’

बढीमा २० हजार ८०४ कित्ता मात्र आवेदन गर्न पाउने सीमाका कारण ठूला तथा संस्थागत लगानीकर्ताले चाहेर पनि बढी लगानी गर्न नसकेको उनकाे भनाई छ । उनले ठूला लगानीकर्ता बीपीसीको सेयरमा लगानी गर्न इच्छुक रहेको प्रमाण दिने प्रयास गर्दै उनले भने–अण्डरराइटर पाँच वटै कम्पनी सबै सेयर दिन चाहेमा १२ लाख २१ हजार ८३० कित्ता सबै हामी किन्छौं भनेर लगानीकर्ताहरु आएका छन् । मोलमोलाई भईरहेको छ । हामीले निर्णय गरिसकेका छैनौं’ उनले भने ।

बुटवल पावर कम्पनीको १२ लाख कित्ता सेयर किन्छु भनेर आज शुरु गर्यो भने कति वर्ष लाग्ला ? उनले प्रश्न गर्दै भने–यति ठूलो परिणाममा सेयर किन्न चाहानेको लागि यो ठूलो मौका पनि हो ।

बीपीसीको सेयरमा ६१ करोड लगानी गर्न चाहने व्यक्ति तथा संस्था को हो ? उनले खुलाएनन् ।

जोखिम कम

अण्डरराईटरहरुले बीपीसीको एफपीओ सकार गर्दा जोखिम कम रहेको बताए । ‘हामीले बजारको सेयर किनेको होइनौ, कम्पनीको स्ट्रेन्थ हेरेर लगानी गरेका छौं । अण्डरराइटिङ गरेको सेयरमा नोक्सान हुन्छ भन्ने हामीलाई लाग्दैन’ घिमिरेले भने ।

म्यूचल फण्डले ५/७ वर्षका लागि फण्ड संकलन गरेको हुने र ५ वर्षसम्म होल्ड गर्दा कुनै नै कुनै दिन नाफामा बेच्न सकिने उनले बताए ।
नविल इन्भेष्टमेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले धितोपत्र बोर्डले एफपीओको मूल्य निर्धारण गरेको, अरु स्वतन्त्र निकायहरुले पनि राम्रो रेटिङ गरेकोले यस कम्पनीको सेयरमा घाटा नहुने बताए ।

ग्लोवल आईएमई क्यापिटलका सहायक प्रमुख कार्यकारी अधिकृत प्रराग विष्ठले पनि बुटवल पावरको एफपीओ अण्डरराईटिङ गर्दा दीर्घकालिन रुपमा जोखिम नभएको बताए ।

निष्काशन गरिएको एफपीओ पूर्ण रुपमा सार्वसाधारणमा बिक्री नहुनमा कम्पनीको कमजोरी नभएको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले बताए । ‘आन्तरिक कारण होइन, वाह्य कारण सेयर आवेदन कम भयो, उनले भने–यहिबेलामा धेरै हकप्रद सेयर निष्काशन भए, धेरै साधारण सेयर तथा म्यूचल फण्ड आए । बैंकमा लगानीयोग्य पुँजीको अभाव रह्यो ।’

कम्पनीले दिने लाभांश राम्रो र स्थीर रहेको, कम्पनीको संचित कोष पनि राम्रो भएको, ५ वर्षको १००० मेघावाट विजुली उत्पादन गर्ने योजना लिएर कम्पनी अगाडि बढिरहेकोले कम्पनीको भविष्य राम्रो रहेको उनको भनाई छ ।

 

 

Share News