काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङको तयारी अन्तिम चरणमा पुर्याएको छ । सेयर बजार निरन्तर ओरालो लागिरहेको समयमा बोर्डले मार्जिन ट्रेडिङलाई तत्कालै कार्यान्वयनमा ल्याउन लागेको हो । मार्जिन कारोबार सम्बन्धी निर्देशन २०७४ हेर्न यहाँ क्लिक गर्नुसहोस
‘हामी कार्यबिधी निर्माणको अन्तिम चरणमा पुगेका छौं, नेप्सेले पठाएको मस्यौदामा केहि संसोधन गरेर बोर्डले पारित गर्छ र कार्यान्वयनमा ल्याउँछ’, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले विकासन्युजसँग भने । बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोबार सुबिधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो ।
सोही निर्देशन अनुसार मार्जिन कारोबार सम्बन्धी कार्यबिधी बनाउन बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको थियो । नेप्सेले कार्यबिधीको मस्यौदा तयार पारेर बोर्डमा बुझाएको र त्यसमा आवश्यक संसोधन गरेर पारित गर्ने तयारी भैरहेको बोर्डका अध्यक्ष डा. कार्कीले बताएका हुन् । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने पनि बताए । ‘मार्जिन ट्रेडिङको सुबिधा भनेको सेयर बजारका लागि ठुलो उपलब्धि हो, यसले बजारको विकास र स्थायीत्वका लागि सहयोग गर्छ’, डा. कार्कीले भने ।
सेयर बजार विश्लेषक ज्योति दाहालले पनि मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकासमा सहयोग पुग्ने बताए । ‘मार्जिन ट्रेडिङले बजार बढाउन सघाउँछ, कार्यबिधी कस्तो आउँछ हेरेर मात्रै भन्न सकिन्छ तर बजारलाई राहत चाँही दिन्छ नै ।’, दाहालले भने । उता, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने मार्जिन ट्रेडिङको उपलब्धि कार्यबिधीमा भर पर्ने बताए ।
‘मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकरले मात्रै यो सुबिधा दिन सक्छन्, कार्यबिधीमा थप कडाई भएर आयो भने यसले बजारमा खासै काम नगर्न सक्छ’, सिँजापतिले भने । उनले कार्यबिधीले केहि सहजता दिएको खण्डमा भने त्यसले सेयर बजारमा सकारात्मक सन्देश दिने बताए । मार्जिन कारोबार सम्बन्धी निर्देशनमा उल्लेख गरिएको पुर्वाधार, पुँजी लगायतका सर्तहरुले केहि ब्रोकरले मात्रै यो सुबिधा उपयोग गर्न सक्ने अवस्था देखिएको छ ।