काठमाडौं । नेपालमा उपयोगीता हराउँदै गएको हाते कागज युरोपियन बजारमा भने लोकप्रिय बन्दै गएको छ । युरोपियन बजारमा नेपाली हाते कागज डलरमा खरिद गरिने सम्बन्धित व्यवसायीहरु बताउँछन् । सरकारको प्राथमिकतामा पर्न नसकेको हाते कागजको अन्तर्राष्ट्रिय बजारमा अत्याधिक माग छ । मागअनुसार कागजको आपूर्ति गर्न नसकेको उनीहरुको भनाइ छ ।

काठमाडौंस्थित नेपा क्रिएसन ह्न्डीक्राफ्टका सञ्चालक भरत श्रेष्ठले नेपालको हाते कागजको माग युरोपियन देशहरुबाट हुने गरेको बताए । नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, जर्मन, इटली, स्पेन लगायतका देशहरुमा हाते कागज निर्यात हुने उनको भनाइ छ । ‘नेपालमा २० ग्राम गुणस्तरीय हाते कागजको मुल्य १५/२० रुपैयाँ पर्छ,’ उनले भने ‘उक्त परिमाण युरोपियत बजारमा १ डलरमा निर्यात हुन्छ ।’ ती मुलुकहरुबाट अत्यधिक मात्रामा हाते कागजको माग रहेको उनले जानकारी दिए । युरोपमा प्लाष्टिकको प्रयोग नहुने भएकाले गिफ्टजन्य प्रयोगको लागि नेपाली हातेकागज उपयोगमा आउने गरेको उनको बुझाइ छ । आफ्नो कम्पनीले मात्रै वार्षिक १५ लाख रुपैयाँ बढीको हाते कागजको व्यवसाय गर्ने उनको भनाइ छ ।
त्यस्तै श्रमजिवी नेपाली हाते कागज उद्योगका सञ्चालक नरेन्द्रबहादुर रोकायाले विगत वर्षहरुभन्दा अहिले नेपाली हाते कागजको माग अत्यधिक रहेको बताए । ‘हाते कागजका ठूला व्यापारीहरुले जति उत्पादन गरे पनि खरिद गर्ने बताएका छन्,’ उनले भने ‘तर उत्पादन भने गर्न सकिएको छैन ।’ यद्यपि विगत वर्षहरुको तुलनामा उद्योगले उत्पादन बढाएको उनले सुनाए ।
उनकाअनुसार अहिले सञ्चालन गरेको उद्योग दुई दशकअघि स्थापना गरिएको हो । बीचमा माओवादीे द्वन्दकालमा केही समय बन्द भएपनि अहिले निरन्तर सञ्चालन भइरहेको छ । ‘त्यसताका हामीले मासिक १६० किलो हातेकागज उत्पादन गथ्र्यौ,’ उनले भने ‘अहिले कागजको उत्पादन दुईगुणाभन्दा बढी बढाएका छौं ।’ हाल मासिक ३२० किलोभन्दा बढी तयारी हातेकाज उत्पादन भइरहेको छ । करिब १० लाखसम्मको वार्षिक कारोबार हुने गरेको छ । उद्योगबाट परम्परागत तथा जापानीज प्रविधिमा हाते कागज उत्पादन भइरहेको छ ।
नेपाली हाते कागज उद्योग फिदिमका मदन मगरले पनि उद्योगले उत्पादन गरेको हाते कागज जापान, चीन लगायतको देशमा निर्यात हुने गरेको बताए । परम्परागत र जापानिज प्रविधिबाट उत्पादन गर्दै आएको हाते कागजको माग अत्यधिक रहेको उनको भनाइ छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा मात्रै तयार हुने हाते कागज उद्योगतर्फ सरकारले ध्यान पुर्याउन नसकेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग भएपनि नेपालका साना तथा घरेलु उद्योगहरुले उत्पादन गर्न नसकेको उनको भनाइ छ ।
हालसम्म काठमाडौं, भक्तपुर र सुनसरीमा मात्रै ठूला हाते कागज उत्पादन गर्ने मेसिन विज्ञान प्रविधि मन्त्रालयसँगको सहकार्यमा उपलब्ध गराइएको छ । बाँकी राम्रो सम्भावना भएको क्षेत्रहरुमा समेत मेसिन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । ‘हामीले हाते कागजको उत्पादन बृद्धि र बजारीकरणको लागि पहल गरिरहेता पनि सरकारकोतर्फबाट मागको सुनुवाइ भएको छैन,’ उनले भने ‘जसबाट राम्रो सम्भावना भएपनि पछिल्लो प्रविधिहरुको प्रयोग गरेर मागअनुसार हाते कागजको गुणस्तरीय उत्पादन बढाउन सकिएको छैन ।’ स्वदेशी कच्चा पदार्थबाटै उत्पादन हुने हाते कागजको उत्पादन र बजारीकरणको लागि महासंघले योजना बनाइरहेको उनको भनाइ छ ।
नेपालमा लोक्ता, कागती, वावियो, केरा, अलैचि लगात कच्चापदार्थहरुबाट हाते कागज उत्पादन गरिदै आएको छ । हातेकागज व्यवसायीहरुका अनुसार मुलुकमा पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम दोलखादेखि पश्चिमको जाँजरकोट लगायतको क्षेत्रमा हाते कागजको कच्चा पदार्थ उत्पादन हुदै आएको छ ।