काठमाडौं । ‘हाम्रो बजारमा गाडी, घर, जग्गा किनबेच हुन्छ । कम्प्यूटर, ल्यापटप, मोवाईल, क्यामेरा, घडी, टिभी, वासिङ मेसिन लगायत विद्युतीय सामाग्री हुन्छ । फर्निचर, कपडा, व्यूटी तथा हेल्थ केयरका सामान हुन्छन् । औद्योगिक तथा व्यापारिक सामान हुन्छन्’ हाम्रो बजार डटकमका सञ्चालक प्रबल शाख भन्छन्–‘हाम्रो बजार, सबैको बजार ।’

‘आजको दिनमा हाम्रो बजारमा रियल स्टेट ७ हजार ९ सय, अटोमोबाइल ९ हजार ५ सय, होम फर्निसिङ ६ हजार, ट्राभल टुर प्याकेजेज बिक्रीका लागि सूचिकृत गरिएका छन्’ शाखले भने–‘हाम्रो बजार एउटा डिजिटल प्लेटफर्म हो । यसमा हजारौ मान्छेले नयाँ तथा प्रयोग भईसकेका लाखौ सामान खरिद बिक्री गरिरहेका हुन्छन् ।
‘हाम्रो बजारमा कुनै पनि बस्तु सूचिकृत गरेबापत वा किनबेच गरेबापत शुल्क तिर्नु पर्दैन । हाम्रो बजार प्लेटफर्म प्रयोग गरेर मानिसहरुले दैनिक लाखौ÷करोडौ रुपैयाँ बराबरको कारोबार गर्छन् तर त्यसबाट हामीलाई एक रुपैयाँ पनि आम्दानी हुन्न’ शाखले विकासन्युजसँग भने ।
लाखौ मानिसहरुले विनाशुल्क कारोबार गर्न सक्ने यस प्लेटफर्मबाट शाखाले मासिक ३ देखि ७ लाख रुपैयाँ आम्दानी गर्छन् ।
समस्याले जन्माएको बजार
युनिभर्सीटी अफ कोलोराडो युनाइटेड स्टेडबाट ब्याचलर एण्ड बिजनेश एडमीस्ट्रेसन, वेव्सटर युनिभर्सीटी थाइलेण्डबाट मार्केटिङमा मास्टर गरी नेपाल फर्केका शाखले नयाँ मोडलको मोवाईल किने । त्यसपछि आफूले चलाउँदै आएको पुरानो मोबाइल बेच्ने सोच बनाए ।
‘म बजारमा मोबाइल बिक्री गर्न भनेर गएँ । बिक्री गर्न खोज्दा पसलेले ज्यादै कम मूल्यमा प्रस्ताव गर्यो । त्यत्तिकै राख्नु भन्दा थोरै मूल्यमा भएपनि बेच्ने निर्णयमा पुगेँ तर पसलेले फेरी मोबाइल बिक्री गरिसकेपछि मात्रै पैसा दिन्छु भन्यो’ उनले अनुभव सुनाए–‘एक त मैले उसैको मूल्य सस्तोमा मोबाइल बेच्न तयार भए, त्यति हुँदा पनि ऊ पैसा तत्काल दिन्न, बेचेपछि मात्र पैसा दिन्छु भन्छ ।’
उनले त्यो मोवाईल बेचेनन् । आफ्नो जस्तो समस्या समाजमा धेरैको हुन्छ भन्ने उनलाई ज्ञानबोध भयो । आफ्नो र अरुको पनि यस्तो समस्या समाधान गर्ने उपायको खोजिमा थाले उनी ।
‘जसरी मैले दुःख पाए त्यसरी नै यहाँ हजारौंले दुःख पाएका होलान् भन्ने लाग्यो’ शाखले सुनाए–‘त्यहि समस्याको समाधानको खोजीमा जन्मिएको हो हाम्रोबजार डट कम ।’
८ वर्षअघि हाम्रो बजारलाई बच्चाले हबीको लागि खोलेको वेवसाईटको रुपमा तुलना गरिन्थ्यो । अहिले यहि वेवसाईट करोडौ मूल्यका घर घडेरी, लाखौ मूल्यका कार, हजारौ मूल्यमा घरायसी सामानहरु किनबेच गर्ने डिजिटल बजार बनेको छ । शाखका अनुसार हाम्रो बजार वेवसाइटको पेज भ्यू दैनिक ७० देखि ८० हजार रहेको छ । यसमार्फत हजारौं कम्पनीहरुले करोडौंको व्यापार गर्दै आएका छन् ।
कसरी चल्छ बजार ?

आफ्ना बस्तु तथा सेवा बिक्री गर्न चाहानेले बिक्री गरिने बस्तुको फोटो, त्यसको मूल्य, बस्तुको साईज, त्यसको अवस्था, बिक्री गर्न चाहानेको नाम, सम्पर्क नम्बर, ठेगाना लगायत विवरण हाम्रो बजारमा पोष्ट गर्छन । यसरी बस्तु तथा सेवाको विवरण हाम्रो बजारमा प्रकाशित गर्दा कुनै पनि शुल्क लाग्दैन ।
उल्लेखित विवरण हेरेर हाम्रो बजारको दर्शक वा पाठकले आफूलाई आवश्यक बस्तु तथा सेवा छनौट गर्छन् । दुई पक्षबीच सम्वाद, मोलमोलाई, कारोबार गर्ने अन्तिम निर्णय, लेनदेन लगायत कुनै पनि कार्र्यमा हाम्रो बजार डटकम सहभागी हुँदैन । संस्थाले कुनै शुल्क पनि लिँदैन । ‘प्रयोगकर्ताहरु आपसमा स्वेच्छिक तरिकाले भेट्छन्, कारोबार गर्छन, त्यसमा हाम्रो कुनै पनि संलग्नता हुँदैन’ शाखले भने ।
‘हजारौ पसलहरुले हाम्रोबजारमा आफ्ना सामानहरु देखाएर बिक्री गरिरहेका छन् । लाखौं मानिसले आफ्नो घरमा नचाहिने तर बिक्री योग्य पुराना सामानहरुलाई बेचिरहेका छन्’ शाख भन्छन्–‘हामीले प्लेटफर्मको सिस्टम विकास र सञ्चालन मात्र गर्ने हो ।’
‘हाम्रोबजार मैले होइन, सर्बसाधारणले चलाएको वेवसाइट हो । सर्बसाधारणले आफ्नो घरबाट, कम्पनीबाट, बैंक वा पसलबाट अपलोड गरिरहेका हुन्छन्’ उनले भने । सिस्टम चलाउन ३/४ जना कर्मचारी नियमित काम गर्छन् । केही मानिसहरु पार्टटाईम काम गर्छन ।
पुराना सामान बेच्ने बढ्दो संस्कार
हाम्रो बजार सञ्चालनमा आएको ३/४ वर्षपछि मात्र यसको प्रयोग र लाभबारे चर्चा हुन थाल्यो । जानकारी भएपछि पनि हाम्रो बजारमा आफ्ना सामान सूचिकृत गर्ने कि नगर्ने भन्नेमा मानिसहरु दोधारमा पर्थे । अरुले के भन्ला भन्ने शंका देखिन्थ्यो ।
अहिले धेरै मानिसको लागि हाम्रो बजार राम्रो व्यापारको प्लेटफर्म बनेको छ । कतिको त बानी परिसकेको छ । ‘पहिला पुरानो सोफा बेच्न राख्ला लाज मान्नेहरुलाई अहिले बानी परिसकेको छ ।’ पुराना सामान हाम्रो बजारमा राखेर बिक्री गर्ने र खेरा जाने अवस्थामा पुगेको बस्तुलाई रुपैयाँमा बदल्ने संस्कार बनेको छ ।
त्यतिमात्र होइन, बजारमा आएको नयाँ बस्तु तथा सेवाहरुलाई हाम्रो बजारमा सूचिकृत गरेर व्यवसाय नै विस्तार गर्नेको संख्या पनि धेरै छ । डिलर, रिसेलर, हाउजिङ डेभलप्मेन्ट कम्पनीहरुले पनि हाम्रोे बजारमार्फत ब्यवसाय गरिरहेका छन् ।
‘हाम्रो बजारको सर्भिस केही घन्टा मात्रै अबरुद्ध भयो भने सयौं फोन आउने गरेको छ । कहिलेकाही मेरो जग्गा बिक्री गरिदिनु भन्नेहरु आउछन्’ उनले अनुभव सुनाए ।
इकमर्शको तयारी

विश्व बजारमा इन्टरनेटबेस वाइङ ह्याविटको विकास भएको छ । नेपालकै कुरा गर्ने हो भने शुरुमा मान्छेहरु एटीएम कार्ड प्रयोग गरी बैंकबाट पैसा झिक्न डराउँथे । अहिले नेपालीहरु कुनै डर र शंका नमानी कार्डबाट रेष्टुरेन्टको विल तिर्छन, बजारमा शपिङपछिको भुक्तानी गर्छन । विस्तारै समाज इन्टरनेटबाट बस्तु तथा सेवा खरिद गर्ने र भुक्तानी गर्ने अभ्यासमा घुलमिल हुँदैछन् ।
समाजमा बढ्दो इन्टरनेटको प्रयोग र डिजिटल करोबारको बढ्दो संस्कारकाबीच इकमर्शको बारेमा सोच्दै छन् शाख । ‘हामी इन्टरनेट जेनेरेशनमा छौं । फेसबुक, ट्वीटर, लिङ्कइन लगायत सामाजिक तथा पेशागत साइटहरुमा इन्टरनेट मार्फत जोडिएका छौं किनमेल पनि इन्टरनेटबाट गर्ने अभ्यास बढ्दो छ । सेकेण्ड ह्याण्ड प्रडक्टको लागि हाम्रो बजार प्रख्यात छ भने नयाँ प्रडक्टको लागि अरु प्लेटफर्महरु आईरहेका छन्’ शाखले भने–‘अब हामी ईकमर्श साइटमा जाँदैछौं ।’
इकमर्श हेर्दा सजिलो देखिए पनि यसलाई चलाउन कठिन भएको उनको भनाई छ । डिजिटल कारोबारलाई सरकारले प्राथमिकतामा राखे पनि इकमर्श सम्बन्धि कानून नभएकोले यसभित्र केही अन्यौता रहेको उनले बताए ।
शाखको सुपरब्राण्ड
गणेशभक्तका नाति, किरण शाखको छोरा प्रबल शाख व्यवसायिक घरानाको युवा व्यवसायी हुन् । उद्योग, व्यापार र सेवाको क्षेत्रमा शाख समूहका दर्जन कम्पनीहरु छन् । प्रबलले अन्य उद्योग, व्यापारमा पनि परिवारलाई सहयोग गर्छन । तर उनको लागि सुपरब्राण्ड हो हाम्रोबजार ।
‘हाम्रो बजार मेरो लागि सुपरब्राण्ड हो तर मैले यो ब्राण्डबाट तत्काल पैसा कमाउन चाहिन’ व्यवसायिक घराना परिवारमा जन्मे हुर्केका शाखले भने–‘तीन वर्षसम्म हामीले एक रुपैयाँ पनि आम्दानी गरेनौ । हाल तेस्रो पक्षको विज्ञापन राखेबाफत मासिक ४/५ लाख रुपैयाँ आम्दानी हुन थालेको छ । कहिले २/३ लाख मात्र हुन्छ, कहिले ७/८ लाख पनि हुन्छ ।’