काठमाडौं । ‘बामपन्थी सरकारलाई देखाएर सेयर बजार घटाउने खेल भैरहेको छ, बामपन्थी सरकार आएपछि सेयर बजार उकालो लाग्नेछ’, प्रधानमन्त्री बन्नु अघि केपी ओलीले यस्तै भाषण पटक पटक गरे । उनी प्रधानमन्त्री बनेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । ओलीले देश बनाउने टिम भन्दै डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएका छन् । उनी रियल स्टेट र सेयर बजार प्रति नकारात्मक सोँच राख्ने अर्थशास्त्री मानिन्छन् । तर अर्थमन्त्री भैसकेपछि उनले सेयर बजारलाई निरपेक्ष दृष्टिकोणले नहेर्ने सबैको आंकलन थियो । तर अर्थमन्त्री डा. खतिवडाले बीबीसीमा दिएको अन्तरवार्ताले सेयर बजारमा ठुलै पहिरो गयो र अन्ततः उनले स्पष्टिकरण दिँदै भने–सेयर बजारलाई अनुत्पादक भनेको छैन् ।
आइतबार बिराटनगर पुगेर डा. खतिवडाले पुनः एक पटक सेयर बजारका लगानीकर्तालाई थप निरास बनायो । ‘सेयर बजार घट्नै हुन्न भन्ने छैन, लगानी कर्ताले कम्पनीको विस्तृत अध्ययन गरेर मात्रै लगानी गर्नु ।’ खतिवडाले बिराटनगरमा बोलेको यत्ति हो । तर उनको यहि बोलीले सोमबार सेयर बजारमा पहिरो गयो, सर्किट ब्रेक लगाएर बजारलाई रोक्ने प्रयास नै गर्नुपर्यो । अर्थशास्त्रका राम्रा ज्ञाता अर्थमन्त्री र देश बनाउने सपना बाढेर वाहवाही कमाएका प्रधानमन्त्री हुँदा पनि आखिर किन घट्यो त सेयर बजार ? आखिर सरकारले के चाहिरहेको छ ? के सेयर बजारका लगानीकर्तामा अधिवायकवादको त्रास नै देखिएको हो त ? यस्ता गम्भिर प्रश्नहरु खडा भएका छन् ।
‘लाखौं लगानी कर्ताको भावनामाथीको प्रहार छ, लगानीकर्ताको संरक्षण गर्नुपर्ने व्यक्तिले नै त्यस्ता अभिव्यक्ति दिएपछि लागनी कर्ता जोगिन चाहे ।’, ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने । बामपन्थी अर्थशास्त्री केशब आचार्यले भने सेयर बजार घट्नुमा राजनीतिक कारण नभएको बताए । उनले माग र आपुर्तिको सन्तुलन नमिलेकाले बजार घटेको दावी समेत गरे । ‘बामपन्थी सरकारसँग सेयर बजार डराउनुपर्ने कुनै कारण छैन्, उच्च ब्याजदर र सेयरको अधिक आपुर्ति नै बजार घट्नुको कारण हो’, आचार्यले भने ।