काठमाडौं । अब एक जना व्यक्तिले २ वटा भन्दा बढि लघुवित्त कम्पनीबाट ऋण नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिएको देखिएपछि त्यस्तो कडाई गर्न लागेको हो । ‘अब एक जना व्यक्तिले बढिमा २ वटा कम्पनीबाट मात्रै ऋण लिन पाउने व्यवस्था गरिन्छ, त्यसका लागि मैले मातहतका अधिकारीलाई यहिँबाट निर्देशन दिएँ’, सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका भगर्नर डा. चिरञ्जीवी नेपालले भने ।

उनले एउटै व्यक्तिले चार पाँच वटा लघुवित्तबाट ऋण लिएकाले लघुवित्तहरु जोखिममा पर्दै गएको आरोप पनि लगाए । हाल २५ लाख ७५ हजार नेपालीले लघुवित्तबाट कर्जा सेवा लिएको तथ्यांक रहेको छ तर त्यसमा अधिकांश ऋणीहरु चार पाँचवटा कम्पनीसँग जोडिएको पनि उनले बताए । कार्यक्रममा राष्ट्र बैंककै माइक्रोफाइनान्स प्रवद्र्धन तथा नियमन विभागका प्रमुख जनक बहादु अधिकारीले पनि लघुवित्त कम्पनीहरु संकट उन्मुख भएको बताएका थिए । ‘लघुवित्त कम्पनीका सञ्चालकहरु सक्षम भएनन्, समयमै नियमन गर्न सकिएन भने गम्भिर संकट आउने देखियो, लघुवित्तहरुलाई दुर्गन्धित हुनबाट जोगाउनु पर्ने समय आईसकेको छ’, नियमन विभागका प्रमुख अधिकारीले भने ।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स एसोसियसनका अध्यक्ष रामचन्द्र जोशीले १८ प्रतिशतको ब्याजदर सिमा हटाउनुपर्ने धारणा राखेका थिए । उनले १४.५ प्रतिशतमा सापटी लिएर १८ प्रतिशतमा कम्पनीहरु चल्नै नसक्ने पनि उनले बताए । उनले लघुवित्त कम्पनीहरुलाई पनि निक्षेप संकलनको बाटो खुल्ला गरिदिन पनि माग गरेका थिए ।