काठमाडौं । अहिले ६५ वटा माइक्रोफाइनान्सले ५ सय ९९ अर्ब लगानी गरेका छन् । अब हामीले तथ्यांक माग्नु पर्ने भएको छ कि यत्रो लगानी गरेर कति नेपाली नागरिक गरिबीको रेखामुनीबाट माथी उठे त ? त्याे तथ्यांक हेरेपछि कुन माइक्रोफाइनान्सलाई कारवाही गर्ने र कुनलाई पुरस्कृत गर्ने भन्ने एकिन हुनेछ ।
माइक्रोफाइनान्सले कति नेपालीलाई गरिबीबाट माथी उठायाे भन्ने तथ्य राष्ट्र बैंकलाई नै थाहा नहुने भन्ने पनि कही हुन्छ ? अब हामीलाई ५ सय ९९ अर्बको लगानीबाट कति नेपालीको जीवनस्तर उकासियो त्यो तथ्यांक चाहियो । राष्ट्र बैंक बैंकको सम्बन्धित निकायलाई मेरो निर्देशन नै भयो ।

अहिले माइक्रोफाइनान्सहरुमा २५ लाख ७५ हजार मानिस आवद्ध छन भनिएको छ । एउटै व्यक्तिले धेरै वटा कम्पनीबाट ऋण लिएकाले पाँच लाख भन्दा बढि मानिस यो क्षेत्रबाट लाभाम्वित नभएको स्पष्टै हुन्छ । अब ६ महिनादेखि एक बर्षभित्रमै एउटा व्यक्तिले २ वटा कम्पनीबाट मात्रै ऋण लिन पाउने व्यवस्था गर्नुस् । एउटा मान्छेले ऋण लिएको ३ बर्षमा ऊ पुरानो अवस्थाबाट माथी उठिसक्नु पर्छ । राम्रो मान्छे र व्यवसाय पर्यो भने २ बर्षमै ऊ पुरानो अवस्थाबाट माथि उठ्न सक्छ ।
अब को व्यक्तिले कुन व्यवसायका लागि कुन मितिबाट कुन कम्पनीबाट ऋण लियो भनेर एकिन तथ्यांक तयार पार्नुस् । अब माइक्रोफाइनान्सलाई कडाई नगरी भएन । माइक्रोफाइनान्सहरु आफ्नो उदेश्यबाट अलि बिमुख भएको महसुस गरेका छौं । कर्जा लगानी पनि सिमा भन्दा बढि नै गरिसकेको देखियो ।
माइक्रोफाइनान्सको उदेश्य भनेको ग्रामिण क्षेत्रका नागरिकलाई व्यवसाय गर्न उत्प्रेरित गर्ने हो । यो व्यवसाय यसरी गर्नुस, यसरी हिसाब किताब गर्नुस, यसरी ऋण तिर्नुस् भनेर सिकाउनु पर्ने हो । तर हामी त बाटोमा भेट्ने वित्तिकै समातेर ल्याएर ऋण दिने चलन स्थापीत भयो । बाटोबाट तानेर जबरजस्ती भिडाएको ऋणको उसले किन सदुपयोग गर्छ ?
त्यसले माइक्रोफाइनान्सका ऋणीहरुले भोज खुवाउनु स्वभाविक हो । कम पढेलेखेका र पैसा नभएका ग्रामिण जनताका लागि नै हो माइक्रोफाइनान्स तर हामी बिषयान्तर भएका छौं । कम्पनी र हामी नियामक निकाय पनि अलि अन्तै लागेको महसुस भएको छ ।
अब सहकारी चलाएको जसरी माइक्रोफाइनान्स चलाउन पाइँदैन् । राम्रो प्रणालीमा सञ्चालन हुने माइक्रोफाइनान्सहरुको अवस्था राम्रो छ । हामीले पनि अरु देशको सफलताहरु हेरेर नेपालमा माइक्रोफाइनान्स भित्र्याएका हौं । यिनिहरूको काम भनेको ग्रामिण नागरिकहरुलाई उद्यमशिल बनाउन सहयोग गर्ने हो ।
हाम्रो देशमा ऋण लिएर व्यापार व्यवसाय गरेका ७० प्रतिशत सफल भएको देखिन्छ । अब कर्जा सूचना केन्द्रले माइक्रोफाइनान्सका ऋणीहरुको पनि लागत राख्नु पर्नेछ । त्यसले मल्टिपल लेण्डिङको समस्या समाधान हुन्छ । त्यसले माइक्रोफाइनान्सबाट ऋण लिएर तिर्न नसकेर आत्महत्या गर्नेहरुको संख्या पनि घट्छ ।
ऋणको जोखिम (डेब्ट ट्रयाप) पनि कम हुन्छ । एउटा माइक्रोफाइनान्सबाट ऋण लिएर तिर्न नसकेपछि त्यही ऋण तिर्न ऊ अर्काे कम्पनी धाउने समस्याको पनि समाधान हुनेछ । यस्तो रोग नेपालको मात्रै होइन, इण्डोनेसिया, भारतको आन्द्र प्रदेश, अजरबैजानसम्म यस्ता समस्याहरुले माइक्रोफाइनान्सहरुलाई समस्यामा पारेका छन् ।
कतै-कतै त ५० प्रतिशतसम्म मल्टिपल लेण्डिङको समस्या देखिएको छ । हामी कहाँ पनि त्यस्तो समस्या ठुलै छ । २५ लाख ७५ हजारको संख्या त पाँच लाखमा सिमित हुने सम्भावना देखियो । कति मानिस गरिबीको समस्याबाट मुक्त भए, कति स्वरोजगार र उद्यमशिल भए भन्ने कुराको पनि एकिन तथ्यांक छैन् ।
अब ई म्यापिङ मार्फत माइक्रोफाइनान्सहरु कहाँ कहाँ खुले र कहाँ कहाँ खोल्न बाँकी छ, त्यसको तथ्यांक पनि सार्वजनिक गर्नुपर्नेछ । हामीले विकट क्षेत्रमा जाने माइक्रोफाइनान्सलाई ४० लाख निर्ब्याजी पैसा दिएका छौं ।
अझै पनि ६० प्रतिशत जनसंख्याले घरमै पैसा राखेर बसेका छन् । ५२ प्रतिशतले मात्रै बैंकबाट ऋण लिएका छन भने ४२ प्रतिशतले मात्रै बैंकमा पैसा राख्ने गरेका छन् । २० प्रतिशत युवाहरु बैंक पनि जाँदैनन र ऋण पनि लिँदैनन् । माइक्रोफाइनान्सहरुले आफ्नो उदेश्य अनुसार काम गरे भने ८ देखि १० हजार मासिक कमाउन नेपाली युवाहरु विदेश जानु पर्दैन् । त्यसकारण मेरो आग्रह छ, माइक्रोफाइनान्सहरुले ठिकसँग काम गर्नुस् । तपाईहरु बाणिज्य बैंक जस्तो होइन् । विकास बैंक वा वित्त कम्पनी जस्तो पनि होइन् ।
तपाईहरुले त सेवा गर्ने र नाफा पनि कमाउने हो । वाणिज्य बैंकहरुसँग माइक्रोफाइनान्सले प्रतिष्पर्धा गर्न सक्दैनन् । त्यसका लागि माइक्रोफाइनान्स खोलिएको पनि होइन् । तल्लो तहका नागरिकहरुले रोजगारी खोज्ने भन्दा पनि रोजगारी सृजना गर्न सकुन् । गरिबी घटोस् भन्नका लागि माइक्रोफाइनान्सहरुलाई लाइसेन्स दिइएको हो । कति लगानीले कति रोजगारी सृजना भयो भन्ने कुरा पनि हामीले हेर्नुपर्छ । अब एउटा व्यक्तिले २ कम्पनी भन्दा धेरैबाट ऋण लिन नपाउने व्यवस्था लागु हुन्छ । कर्जा सूचना केन्द्रले त्यसको तथ्यांक राख्छ । (गभर्नर डा. नेपालले व्यक्त गरेको विचारमा आधारित)