गोकर्ण बिष्ट/लालबाबु पण्डितः खडेरीमा पानी छिट्यायो, झरी कहिले ?

<p>काठमाडौं । नम्र वचन, सरल प्रस्तुति र कडा व्यवहारः यी लालबाबु पण्डितका बिशेषता हुन् । सामान्य प्रशासन मन्त्रालयको पहिचान पनि सामान्य नै थियो, कर्मचारी सरुवा बढुवा त्यसको पहिचान थियो । तर जब लालबाबु पण्डितले त्यसको कमाण्ड सम्हाले तब सामान्य प्रशासन मन्त्रालय एकाएक चर्चामा आयो र असामान्य बन्न पुग्यो । मन्त्री भनेको हाइप्रोफाइल व्यक्ति मात्रै बन्छन् [&hellip;]</p>

काठमाडौं । नम्र वचन, सरल प्रस्तुति र कडा व्यवहारः यी लालबाबु पण्डितका बिशेषता हुन् । सामान्य प्रशासन मन्त्रालयको पहिचान पनि सामान्य नै थियो, कर्मचारी सरुवा बढुवा त्यसको पहिचान थियो । तर जब लालबाबु पण्डितले त्यसको कमाण्ड सम्हाले तब सामान्य प्रशासन मन्त्रालय एकाएक चर्चामा आयो र असामान्य बन्न पुग्यो । मन्त्री भनेको हाइप्रोफाइल व्यक्ति मात्रै बन्छन् र बन्नुपर्छ भन्ने मान्यतालाई पनि पण्डितले चिरिदिए । खासै नसुनिएका/नचिनिएका पण्डित एकाएक चर्चाको शिखरमा पुगे र सामान्य प्रशासन मन्त्रालय पनि ।

डीभीपीआर धारी कर्मचारीहरुले जागिर वा विदेशी नागरिकतामध्ये एउटा मात्रै रोज्नुपर्ने गरि निजामति ऐन संसोधनका पक्षमा उनको अडान चट्टान झै थियो । उनै पण्डितले प्रशासन, कानुन र प्राबिधिक लगायतका विधा अनुसार नै कर्मचारीहरुको पोष्टिङ गर्ने व्यवस्था पनि गरे । त्यस बाहेक सरुवामा केहि थिति बसाल्ने प्रयास उनले पहिलो कार्यकालमा गरेका थिए । साथै, मन्त्रालयको खर्च कटौती, गाडी खरिदका लागि दिईएको पैसा फिर्ता जस्ता काम उनले पहिलो कार्यकालमा गर्न भ्याए ।

दोश्रो कार्यकाल सिंहदबार प्रवेश गर्दा पण्डितले सुरुमा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनले त्यहाँ पनि केहि सकारात्मक सुरुवात गरिदिए । पण्डितले धुलोमुक्त शहर बनाउने घोषणका साथै वातावरणिय प्रभाव मूल्यांकन नगर्ने केहि उद्योगहरुलाई कारवाही गरिदिए । कसैको रोजाईमा नपरेको र खासै चर्चामा पनि नरहेको वातावरण मन्त्रालयलाई पनि पण्डितको प्रवेशले चर्चाको शिखरमा पुर्यायो । केहि उद्योग तथा होटललाई जरिवाना गराएपछि अरुले स्थापनाको बर्षौपछि धमाधम इआइए गर्न थाले ।

यद्यपी, पण्डितले अहिलेसम्म जे जे गरे ती सबै खडेरीमा पानी छिट्याउनु जस्तै मात्रै थिए । अर्थात नेपाली इतिहासमा मन्त्री बनेकाहरुमध्ये थोरैले मात्रै मन्त्री पद छाड्दा आफ्नो प्रतिष्ठा बढाउन सफल भएका छन् । त्यसका पछिल्लो उदाहरणका रुपमा उनी दरिएका मात्रै हुन् । पण्डितले खडेरीमा पानी पारेका छैनन्, केबल पानी छिट्याउने अवस्था मात्रै सृजना गरेका छन् । अब सरकारी कर्मचारीलाई शासकबाट सेवकमा रुपमा पुनः परिभाषित गराउनु उनका लागि सबै भन्दा महत्वपुर्ण उपलब्धि हुनेछ र आम नागरिकका लागि सुखद सन्देश पनि । उनले स्वेच्छिक अवकासको प्रक्रिया रोकेर कर्मचारीलाई जिम्मेवार बनाउने अभियान भने छेडिसकेका छन् । घुस नदिई काम नगर्ने पहिचान बनाएका कर्मचारीको छवि सुधार र सेवाग्राही मैत्री सेवा स्थापीत गरेपछि मात्रै पण्डितले खडेरीमा झरी पारेको सावित हुनेछ ।

शालिन व्यक्तित्व र सरल प्रस्तुतिकै छवि बनाएका छन वर्तमान श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले । उर्जामन्त्री बन्दा महसुल नतिर्नेहरुको लाइन काटेर उनी चर्चाको शिखरमा पुगेका थिए । अहिले उनी श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा छन । उनै बिष्टको काँधमा छ करिब ४० लाख नेपालीको रेखदेख । अर्थात खाडीमा पसिना बगाईरहेका नेपालीहरुको जीवन रक्षाको जिम्मेवारी यतिबेला बिष्टको काँधमा आईपुगेको छ ।

फ्रि भिसा।फ्रि टिकटका नाममा अण्डर टेबल असुलीको धन्दा मेनपावर व्यवसायीहरुले चलाईरहेका छन् । त्यसलाई रोक्न सके उनले पानी खडेरीमा पानी पारेर नेपाली जातिको उत्थान गरेको ठहर्छ । खाडीमा पसिना बगाउनेहरुको योगदानलाई राज्यले उचित सम्मान दिन सके बिष्टले लाखौं नेपालीमाथी न्याय गरेको सावित हुनेछ ।

नेपालको प्रशासनिक क्षेत्रमा वैदेशिक रोजगार विभाग सबै भन्दा बदनाम निकाय हो । त्यो निकायले बदनामी मात्रै कमाएको छैन, त्यसका गलत हर्कतहरुले लाखौं नेपालीहरुले खाडीमा दुःख पाईरहेका छन्, अकाल मृत्युवरण गरिरहेका छन् । विभागको सुद्धिकरण पनि विष्टका लागि खडेरीमा झरी पार्ने अस्त्र बन्न सक्छन् ।
पछिल्लो समय बिष्ट, पण्डित, जनार्दन शर्मा अनि कुलमान घिसिङहरुकै कारण नेपालमा परिवर्तन सम्भव छ, एक दिन सुशासनसँगै समृद्धि पनि आउँछ भन्ने विश्वास जनमानसमा बढ्दै गएको छ । यीका अघिल्ला प्रयासहरु खडेरीमा पानी छिट्याउने अस्त्र मात्रै थिए अब नागरिकले झरी परेको हेर्न चाहेका छन् ।

Share News