काठमाडौं । विदेशी लगानीमा सञ्चालित एक दर्जन बढी वहुराष्ट्रिय कम्पनीले ३३ अर्ब रुपैयाँ लाभांश वापत विदेश लगेका छन् ।चालु आर्थिक वर्षको हालसम्म नेपालमा विभिन्न किसिमका व्यवसाय सञ्चालन गर्ने ती कम्पनीले ३२ अर्ब ६६ करोड रुपैयाँ बराबरको लाभांश विदेश लैजान नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका हुन् ।
सबैभन्दा बढी लाभांश विदेश लैजानेमा मोवाइल सेवा प्रदाय एनसेल प्राइभेट लिमिटेडले रहेकोछ । राष्ट्र बैंकका अनुसार एनसेलले २४ अर्ब रुपैयाँ बराबरको लाभांश फिर्ता लगेको हो । लामांश वापत विदेशियको मध्ये ७३.४८ प्रतिशत हिस्सा एनसेलको मात्रै रहेको छ ।
लगानीका आधारमा नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले लाभांश लैजाने गरेका छन् । विदेशी मुद्रामा लगानी ल्याएपछि लाभांश डलरमा लैजान पाउने व्यवस्था छ । यी कम्पनीले नेपालमा कमाएको लाभांशलाई डलरमा परिवर्तन गरेर लैजाने गरेका छन् ।
लाभांश फिर्ता लैजाने अन्य कम्पनीमा सूर्य नेपाल प्राइभेट लिमिटेड, डाबर नेपाल प्राइभेट लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, हिमाल पावर लिमिटेड, गोरखा ब्रुअरी लिमिटेड, नविल बैंक, बोटलर्स नेपाल लिमिटेड, बोटलर्स नेपाल तराई लिमिटेडलगायत छन् ।
एनसेल बाहेक अन्य कम्पनीले लाभांश वापत ८ अर्ब रुपैयाँ विदेश लगेका हुन् । एनसेलले २ वर्षको नाफाबाट लाभांश विदेश लगेको हो । एनसेलले यो वर्ष २ पटक लाभांश विदेशमा लगेको छ । विदेशी लगानीकर्ताले नेपालका बैंकमा खोलेका डलर खाताबाट लाभांश सिधै विदेश लैजाने गरेका छन् । डलरमा लाभांश लैजानु अघि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
यो वर्षदेखि राष्ट्र बैंकले लाभांश विदेशिने रकमको तथ्याँक राख्ने गरेको छ । गत वर्षको चैतदेखि मात्र राष्ट्र बैंकले विदेशीने लाभांशको विवरण राखेको हो । गत वर्षको चैतदेखि असारसम्म विभिन्न बहुराष्ट्रिय कम्पनीले १४ अर्ब रुपैयाँ बराबर लाभांश विदेशमा लगेका थिए ।
लाभांशको रुपमा धेरै रकम विदेशिएपछि नेपालको विदेशी विनिमय संचिती २.८ प्रतिशत घटेको छ ।
७ महिनामा विदेशी विनिमय संचिती घटेर १० खर्ब ४९ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा १० खर्ब ७० अर्ब ४३ करोड रुपैयाँ विदेशी विनिमय संचिती थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा ९ खर्ब ३६ अर्ब २१ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थामा १ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ ।
सरकारको चालु खाता १ खर्ब ४१ अर्ब ६ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोडले घाटामा रहेको थियो । आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अघिल्लो वर्षको सात महिनामा ३६ अर्ब ९५ करोड रुपैयाँ बचतमा रहेकाले समग्र शोधनान्तर १८ अर्ब २८ करोडले घाटामा गएको हो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।