काठमाडौं । चीनको हुवाजिन कम्पनीले सिमेन्ट कारखाना स्थापना गर्न १४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ ।

सिमेन्ट उत्पादन गर्नका लागि लगानी बोर्डसंग प्रारम्भीक सम्झौता गरेको हुवासिनले चीनबाट ऋण ल्याउनका लागि केन्द्रीय बैंकमा निवेदन दिएको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र उसले नेपालमा विदेशबाट लगानी ल्याउन पाउने छ । चीनियाँ कम्पनीले नेपालमा विदेशी लगानी ल्याउन ह्वासिन सिमेन्ट नारायणी प्रालि उद्योग स्थापना गरिसकेको छ ।
तत्कालका लागि २ करोड रुपैयाँ बराबरको लगानी ल्याउन स्वीकृति मागेको राष्ट्र बैंकले जनाएका छ । कम्पनीले १४ अर्ब रुपैयाँ लगानी ल्याउन निवेदन दिएकोमा प्रारम्भीक काम सुरु गर्नका लागि तत्काल २ करोड रुपैयाँ स्वीकृति दिन भएको छ । लगानी ल्याउन स्वीकृति दिने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ । केही समयमा पछि थप लगानी ल्याउन स्वीकृति दिने स्रोतको भनाई छ ।
ह्वासिनले नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । सिमेन्ट कारखाना स्थापना गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र हुवाजिनका तर्फबाट वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिस्पर्धाबाट ६० करोडमा धादिङको पानीखर्क चुनढुङा खानी खरिद गरिसकेको छ । सिमेन्टमा लगानी गर्ने तयारीमा रहेको हुवाजिन दोसो चिनियाँ उद्योग हो । ह्वासिनले आयोजना लागतको ०.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ दस्तुर बुझाउने छ ।
यता चीनको होङसी सिमेन्ट उद्योगले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न कारखाना निर्माण गरिरहेको छ । आउदो बैशाखदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । होङसीले ३६ अर्ब रुपैयाँ लगानी गरेको छ ।