ठूला बैंकसंग पनि पैसाको अभाव, अग्रिम ११ प्रतिशत ब्याज दिएर निक्षेप तान्न थाले

<p>काठमाडौं । नाम कहलिएका ठूला बैंकलाई समेत लगानीयोग्य पुँजीको अभाव भएको छ । लगानी गर्न थप पुँजी नभएपछि बैंकले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका छन् । मुद्धतिमा ११ र वचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका हुन् । अधिकांश बैंक तथा वित्तीय [&hellip;]</p>

काठमाडौं । नाम कहलिएका ठूला बैंकलाई समेत लगानीयोग्य पुँजीको अभाव भएको छ । लगानी गर्न थप पुँजी नभएपछि बैंकले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका छन् ।

मुद्धतिमा ११ र वचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका हुन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले अहिले विज्ञापन गरेर निक्षेप तान्ने प्रयास गरिरहेका छन् । नविल बैंकसंग पनि लगानीयोग्य पुँजीको अभाव भएको छ ।

बैंकसंग थप लगानी गर्न पैसा नभएपछि निक्षेप तान्न १ वर्षको अग्रिम ब्याज खातामा जम्मा गर्ने मुद्धति योजना ल्याएको छ ।

निक्षेप बढाउन अग्रिम ब्याज दिने योजना ल्याएको नविलका डेपुटी सीईओ अनिलकेशरी शाह बताउछन् । बैंकमा नयाँ निक्षेप नआएपछि तान्नका लागि यस्तो योजना ल्याएको उनको भनाई छ । उनले साना उद्यममा लगानी बढाउन आवश्यक पुँजी जुटाउन नयाँ मुद्धति निक्षेप योजना ल्याएको जानकारी दिए । बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७५ प्रतिशत रहेको बताउदै थप लगानी बढाउन नयाँ निक्षेप योजना ल्याएको शाहको भनाई छ ।

यस्तै एनआईसी एसिया बैंकले पनि निक्षेप तान्न ११ प्रतिशत अग्रिम ब्याज दिने मुद्धति वचत योजना ल्याएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खाता खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए । उनका अनुसार मुद्दती खाताखोल्ने ग्राहकको ५ लाख रुपैया सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने भएको छ ।

बैंकको सीसीडी रेसियो ७९ प्रतिशत पुगेको छ । अधिकांश बैंक थप ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था आएपछि बैंकले धमाधम आकर्षक योजना ल्याएका हुन् ।

ग्लोबल आईएमई बैंक, जनता बैंक, लक्ष्मी बैंक बैंकलगायतले धमाधम निक्षेप तान्ने योजना ल्याएका छन् । यस्तै लक्ष्मी बैंकले पनि निक्षेप तान्नका लागि नयाँ योजना ल्याएको छ । बैंकमा निक्षेप बढाउन नयाँ योजना ल्याएको लक्ष्मी बैंकका सीईओ सुदेश खालिङ बताउछन् ।

चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् ।
चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको छ ।

Share News